काठमाडौं । भारतीय अटोमोबाइल उत्पालदकले आगामी ५ वर्षभित्र १६ वटा नयाँ मोडलका कार बजारमा ल्याउने भएको छ । महिन्द्राले सन् २०३१ सम्म १६ वटा नयाँ मोडलहरू ल्याउने योजना बनाएको हो । जसमा १० मोडल आइस र ६ मोडल ईभी रहेका छन् ।
महिन्द्राले सन् २०२४ को आफ्नो प्रारम्भिक मार्गचित्रलाई निकै विस्तार गरेको छ । पहिले सन् २०३० सम्म ९ वटा इन्धन गाडी र ७ वटा ईभी गरी १६ नयाँ मोडल ल्याउने बताएको थियो । अहिले त्यसलाई परिमार्जन गर्दै सन् २०३१ सम्म १६ वटा गाडी सार्वजनिक गर्ने लक्ष्य राखेको हो ।
अघिल्लो लक्ष्यमध्ये आधाभन्दा बढी सफलता हासिल भइसकेको छ । जसमा पछिल्लो दुई वर्षमा मात्रै ५ वटा इन्धन र ४ वटा विद्युतीय गाडीहरू सार्वजनिक भइसकेका छन्।
१० वटा नयाँ आइस गाडीमध्ये ९ वटा पूर्णतया नयाँ नामका हुनेछन् भने एउटा मिड साइकल अपडेट हुनेछ । जुन परिमार्जित स्कर्पियो एन हुने अपेक्षा गरिएको छ । महिन्द्राले इन्धनतर्फ ल्याउने नयाँ गाडीमा एक्सयूभी थ्री एक्सओ, थार रक्स, एक्सयूभी सेभेन एक्सओ, बोलेरो फेस्लिफ्ट र बोलेरो नियो फेस्लिफ्ट रहेका छन् ।
त्यस्तै, ईभीतर्फ बीई र्याल ई, बीई.०७, एक्सईभी लाइनअपमा नाइन ई, एक्सईभी नाइन एस, एक्सयूभी थ्री एक्सओ र थार ईं रहेका छन् ।
यी धेरैजसो नयाँ मोडलहरू महिन्द्राको एनयूआइक्यू मोनोकक प्लेटफर्ममा आधारित हुनेछन् । एनयू आइक्यू प्लेटफर्मले पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक गरी चारै प्रकारका इन्जिनलाई सपोर्ट गर्छ।
जुन सन् २०२५ अगस्टमा चारवटा कन्सेप्ट एसयूभीहरू भिजन एस, भिजन एक्स, भिजन टी र भिजन एसएक्सटी सँगै सार्वजनिक गरिएको थियो। यी कन्सेप्टका प्रोडक्सनले ठूलो संख्यामा गहकलाई आकर्षित गर्ने लक्ष्य राखेका छन् । पहिलो मोडल अर्को वर्षसम्ममा आउने अपेक्षा गरिएको छ।

भिजन एसबाट प्रेरित ४ मिटर मुनिको एसयूभी एनयू आइक्यू मोनोकक चेसिसमा आधारित छ । यो छिट्टै आउने मोडलमध्ये एक हो। यो लाइनअपमा एक्सयूभी थ्री एक्सओभन्दा माथि रहनेछ । सन् २०२७ को सुरुतिर आउने अपेक्षा गरिएको छ। भिजन एक्स कन्सेप्टले पनि भविष्यमा एउटा कम्प्याक्ट क्रसओभर ल्याउनेछ, जसले एक्सयूभी थ्री एक्सओ लाई प्रतिस्थापन गर्न सक्छ ।
इन्धन गाडीको अपडेटतर्फ तीन ढोके थारलाई ‘थार रक्स’बाट प्रेरित स्टाइल र थप सुविधाहरू सहित परिमार्जन गरिँदैछ। अर्कोतर्फ, स्कर्पियो एन फेस्लिफ्टमा बाहिरी र भित्री बनावटमा केही परिवर्तनहरू गरिनेछ । तर यसको २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन भने यथावत रहनेछ।
महिन्द्रा र्याल ई जुन बीई ६ को एउटा मजबुत अफरोड संस्करण हो । यो इंग्लो प्लेटफर्ममा विकसित भइरहेको छ। यसमा अग्लो स्ट्यान्स, बढी ग्राउण्ड क्लियरेन्स, मोटा टायरहरू र ठूला बडी क्ल्याडिङहरू हुनेछन्।
त्यस्तै, ‘बीई.०७’ ४.६ मिटर लामो हुनेछ । यो सन् २०२७ मा महिन्द्राको विद्युतीय रेन्जको फ्ल्यागसिप मोडलको रूपमा सार्वजनिक हुनेछ । विद्युतीय थार पनि विकासको क्रममा छ । तर यसको सार्वजनिक हुने मिति तय भएको छैन।
इंग्लो प्लेटफर्मको कुल बिक्री सुरु भएदेखि ५० हजार युनिट नाघिसकेको छ । जसले महिन्द्रालाई सन् २०२४ को मूल योजनाभन्दा अझ छिटो विद्युतीय गाडीको क्षेत्रमा अघि बढ्न व्यावसायिक आधार र आत्मविश्वास प्रदान गरेको छ । महिन्दको पछिल्लो आइस मोडल एक्सयूभी सेभेन एक्सओले पनि बजारमा राम्रो सफलता पाइरहेको छ ।
नेपालमा पनि महिन्द्राका गाडी निकै सफल र लोकप्रिय छन् । स्कर्पियो, बीई सिक्स ईभी, एक्सईभी नाइन ई लगायत मोडलले राम्रो बजार पाइरहेका छन् ।


