काठमाडौं । स्याकार ट्रेडिङ प्रालिले होन्डा सिबी ३५० को नयाँ भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले सिबी ३५० डिलक्स भेरियन्ट नेपाल ल्याएर बिक्री सुरू गरेको हो ।
कम्पनीले नेपाल ल्याएको सिबी ३५० डिलक्स भेरियन्टको मूल्य ९ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ ।
कम्पनीले डिलक्ससहित सिबी ३५० आरएस र हाइनेस सिबी ३५० पनि उपलब्ध गराएको छ । होन्डा सिबी ३५० मा ३४८.३६ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ३० एनएम टर्क र २१ बीएच पावर जेनेरेट गर्छ ।
यसमा ५ स्पीडको गियरबक्ससहित असिस्ट र स्लिपर क्लच पाउन सकिन्छ । मोटरसाइकलमा एड्भान्स फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यो डिस्प्लेमा एबीएस, आरपीएम, गियर पोजिसन, साइड स्ट्यान्ड इन्डिकेटजस्ता जानकारी देख्न सकिन्छ ।
त्यस्तै नयाँ सिबी ३५० मा एमर्जेन्सी स्टप सिंगल (ईएसएस) सुरक्षा फिचर दिइएको छ । जसले अचानक ब्रेक लगाउँदा टर्न इन्डिकेटर फ्ल्यास गर्छ र पछाडि सवारी साधन चालकलाई सूचना दिन्छ ।