काठमाडौं । होन्डाले केहि दिनअघि सिबीआर १५० आरको २०२१ मोडल इन्डोनेशियामा सार्वजनिक गरेको छ । नयाँ स्टाइल र थुप्रै परिमार्जन सहित आएको नयाँ सिबीआर १५० आर अहिले निकै चर्चामा रहेको छ । कम्पनीले यसलाई सिबीआर २५० आरबाट प्रेरित रहेर तयार गरेको हो ।
यो मोटरसाइकल डिजाइन र इन्जिन क्षमताको हिसावले यामाहा आर १५ लाई सिधा टक्कर दिने किसिमको रहेको छ । यद्यपी यो मोटरसाइकल नेपाल आउने छ वा छैन भन्ने विषयमा अहिले केहि भन्न सकिने अवस्था छैन । तर, होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले ‘विग वाइक सेग्मेन्ट’मा धेरै मोडल विक्री गर्दै आएकोले यसलाई नेपाल ल्याउन सक्ने संभावना भने देखिन्छ ।
नयाँ सिबीआर १५० आरमा ट्वीन बीम हेडल्याम्प दिइएको छ । निकै सार्प र स्टाइलिस देखिएको नयाँ सिबीआर १५० आर पहिलेको तुलनामा थप स्पोर्टी रहेको छ ।
नयाँ मोडलमा गोल्डन कलरको यूएसडी फर्क, स्लीपर क्लच, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा इन्धन खपतको अवस्था, गियर पोजीसन, स्पीडोमिटर, आरपीएम मिटर, समय, इन्धन लगायतका अवस्था जानकारी पाउन सकिन्छ ।
होन्डा सिबीआर १५० आरमा १४९ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १७.१ बीएच पावर र ७००० आरपीएममा १४.४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।


