एजेन्सी । होन्डाले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनमा आफ्नो योजना सार्वजनिक गरेको छ । कम्पनीले सन् २०५० सम्ममा पूर्ण विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने र सन् २०४० सम्म इलेक्ट्रीक र कम्बस्चन दुबै इन्जिनमा स्कुटर र मोटरसाइकल उत्पादन तथा खोजलाई निरन्तरता दिने जनाएको हो ।
होन्डाले सन् २०२५ सम्ममा १० वटा इलेक्ट्रीक र फ्लेक्स-फ्यूलबाट चल्ने मोडल ल्याउने घोषणा गरेको छ । होन्डाले सन् २०२५ सम्ममा १० लाख विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन विक्री गर्ने योजना बनाएको हो । सन् २०३० सम्ममा ३५ लाख विद्युतीय साधन विक्री गर्ने योजना कम्पनीले सार्वजनिक गरेको छ ।
होन्डाले कम्यूटर सेग्मेन्ट, मोपेड, वाइसाइकल र रमाइलोको लागि प्रयोग गर्ने ‘फन’ मोडलहरु ल्याउने जनाएको छ । होन्डाले विद्युतीय दुई पाङ्ग्रेको लागि सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने भएको छ । सोलिड स्टेट ब्याट्रीलाई नयाँ युगको सुरुवात भनेर यस अघिदेखि नै ब्याख्या भइरहेको छ ।
अहिलेको लिथियम आयोन ब्याट्रीको तुलनामा निकै सुरक्षित, धेरै चार्जिङ साइकल र उच्च पर्फमेन्सको कारण सोलिड स्टेट ब्याट्री उत्पादन सुरु हुनुभन्दा अघि नै चर्चा पाउन सफल भएको छ ।
साथै, होन्डाले फ्लेक्स-फ्यूल इन्जिनमा आधारित मोटरसाइकल तथा स्कुटर पनि यस बीचमा ल्याउने जनाएको छ ।

