सानो इन्जिन र उत्कृष्ट पर्फमेन्स भएका दुई मोटरसाइकल, मूल्यमा २३ हजार फरक

काठमाडौं । साना इन्जिनलाई पनि निकै पावरफुल बनाउन कम्पनीहरुले काम गरिरहेका छन् । नेपालमा सीसीको आधारमा मोटरसाइकल, स्कुटर र कारमा कर लाग्ने भएको कारण ठूला र पावरफुल इन्जिन भएका मोटरसाइकल किन्न सक्ने अवस्था छैन ।

सरकारले सबैभन्दा कम कर लगाएको १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा स्टाइल र पावर पाउन निकै मुस्कील पर्छ । त्यसमाथि अहिले सरकारले १५० सीसी माथिका मोटरसाइकल र स्कुटरमा पनि प्रतिबन्ध लगाएको अवस्था छ ।

सरकारको कडाई र उपभोक्ताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभिन्न कम्पनीले साना सीसीका नयाँ नयाँ मोटरसाइकल नेपाल ल्याइरहेका छन् । १२५ सीसी सेग्मेन्टमा होन्डा साइन, सुपर स्प्लेन्डर जस्ता सफल मोडल बजारमा भएपनि यी दुबै मोटरसाइकल स्टाइलको लागि परिचित मोडल होइनन् ।

त्यसैले यो सेग्मेन्टमा टीभीएसले रेडर १२५ र बजाजले पल्सर एनएस १२५ लिएर आएका छन् । टीभीएस राइडरले निकै राम्रो विक्री समेत पाइसकेको छ भने बजाज पल्सर एनएस १२५ केही दिन भित्रै नेपालमा विक्री सुरु हुनेछ ।

यी दुई स्टाइलिस र पावर फुल मोटरसाइकल बीच बजारमा रोचक प्रतिस्पर्धा हुने सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले यी दुई मोडल बीच रहेका भिन्नता हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

डिजाइन

डिजाइनको कुरा गर्दा यी दुई मोटरसाइकलको डिजाइन फरक रहेको छ । बजाज एनएस १२५ नेकेड स्ट्रीट फाइटर डिजाइनमा बनेको मोटरसाइकल हो । बजाजले एनएस २०० र एनएस १६० कै समान डिजाइनमा एनएस १२५ ल्याएको छ ।

त्यस्तै टीभीएस रेडर स्पोर्टी कम्युटर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यी दुबै मोटरसाइकलको डिजाइन एग्रेशिभ रहेको छ ।

पर्फमेन्स

टीभीएस रेडर १२५ मा १२४.८ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम १२.२ बीएच पावर तथा ६००० आरपीएममा अधिकतम ११.२ एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी पल्सर एनएसको लिगेसी बोकेको एनएस १२५ मा १२४.४ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम ११.६ बीएच पावर तथा ७००० आरपीएममा अधिकमत ११ एनएम टर्क जेनेरेट गर्छ ।

यी दुबै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

फिचर

पल्सर एनएस १२५ मा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजीन हेडल्याम्प, बल्ब इन्डिकेटर, पाइलोट ल्याम्प, सिबीएस ब्रेकिङ सिस्टम पाउन सकिन्छ । यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

टीभीएस रेडरमा फुल डिजिटल कन्सोल, गियर इन्डिकेटर, टप स्पीड रेकर्डर, हेलमेड रिमान्डर, युएसबी चार्जर, डिस्क ब्रेक, एलइडी लाइट्स जस्ता फिचर रहेको छ । यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

माइलेज

यी दुबै मोटरसाइकलमा पावरफुल इन्जिन भएपनि माइलेज पनि राम्रो पाउनेमा पर्छन् । बजाज एनएस १२५ ले प्रतिलिटर ४९ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । यो मोटरसाइकलमा १२ लिटरको फ्यूल ट्याङ्क रहेको छ ।

त्यस्तै टीभीएसले ५७ किलोमिटर माइलेज दावी गरेको छ । यसमा १० लिटर क्षमताको फ्युल ट्याङक दिइएको छ ।

मूल्य

टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले रेडर १२५ को मूल्य २ लाख ५६ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ ।

तर, बजाजले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको छ । मूल्यका हिसावले बजाज एनएस १२५ महंगो छ । रेडरको तुलनामा एनएस १२५ को मूल्य २३ हजार रुपैयाँले बढी रहेको छ ।


Back_to_top