होन्डाले ल्याउँदै नयाँ एसयूभी ‘एचआरभी’, निशानामा क्रेटा र किक्स

केही दिन अगाडि मात्रै सेडान कार होन्डा सिभिकलाई भारतीय बजारमा ल्याएको होन्डाले नयाँ एसयूभी बजारमा ल्याउने तयारी गरेको छ । योसँगै होन्डाले आफ्नो लाइनअपमा चार वटा नयाँ मोडल थप गर्ने जानकारी दिएको हो । हाल, भारतीय बजारमा कम्पनीले अमेज, सिटी, सिभिक र डब्ल्यु आरभीको बिक्री वितरण गर्दै आएको छ । 

कम्पनीले नयाँ कम्प्याक एसयूभीलाई २०२० को दिल्ली अटो एक्स्पोमा प्रदर्शन गर्ने जनाएको छ । पछिल्लो समय भारतीय बजारमा कम्प्याक एसयूभीको बजार हिस्सा करिब ३३ प्रतिशत पुगेको छ । यसमा आफ्नो स्थान सुरक्षीत गर्न होन्डाले नयाँ एसयूभी ल्याउन लागेको आँकलन गरिएको छ ।

होन्डाको नयाँ एचआरभीले हुन्डाई क्रेटा, टाटा ह्यारिएर, निशान किक्स र जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ । लगभग सिआरभी मोडल जस्तै देखिने एचआरभीको मूल्य १५ लाख भरुको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

कम्पनीले एचरआरभीमा नयाँ बिएस–६ मापदन्ड अनुसारको इन्जिनमा ल्याउने बताउँदै होन्डा इन्डियाका प्रेसिडेन्ट गाकु नाकानिशीले सन् २०२१ सम्ममा कम्पनीले नयाँ हाइब्रिड भेहिकलसमेत सार्बजनिक गर्ने जानकारी दिए । 

तीन वर्ष भित्र होन्डा सिटीलाई समेत नयाँ जेनेरेशनमा ल्याउने उनले बताए । पछिल्लो  समय, अटो बजारमा एसयूभी र क्रशओभरको माग बढेसँगै कम्पनीले उक्त सेग्मेन्टको उत्पादनमा केन्द्रित भएको नाकानिशीले जानकारी दिए । 


Back_to_top