काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले विकास गरेको आई–थ्री–एस प्रविधि संसारभर चर्चित छ । आइडल स्टप स्टार्ट प्रणालीमार्फत् मोटरसाइकलको माइलेजमा सुधार ल्याउने यो प्रविधि अहिले विश्वका धेरै टु ह्वीलर उत्पादकले लगाउन सुरु गरेका छन् ।
आई–थ्री–एस प्रणालीमा आधारित मोटरसाइकलले कम इन्धन खपत गर्ने हुँदा भारतीय बजारमा हिरोको बजार हिस्सा बढ्दो क्रममा रहेको छ ।
कसरी गर्छ काम ?
सर्वप्रथम कम्पनीले यस प्रविधिलाई हिरो स्प्लेन्डर आई–स्मार्ट मोरटसाइलकमा लागू गरेको थियो । आई–स्मार्ट प्रणालीले रोकिएर बसेको वा आवश्यक नपरेको अवस्थामा स्वचालितढङ्गबाट इन्जिन बन्द गरिदिने गर्छ ।
त्यतिमात्रै नभई चालकको आवश्यकताबमोजिम क्लच–अन गरेपछिमात्रै इन्जिन सञ्चालनमा आउँछ । चालकले मोटरसाइकल बन्द गरेपछि आई–थ्री–एस प्रणालीले इन्जिनलाई हाइबरनेट वा स्लीप–मोडलमा लैजाने गर्छ ।
आइडल स्टप–स्टार्ट प्रणाली
यो प्रणालीले करिब पाँच सकेन्डको समय अवधिमा इन्जिन बन्द गरिदिने गर्छ भने चालकले मोटरसाइकलको क्लच–थिचेसँगै स्वचालितरुपमा इन्जिन सञ्चालनमा आउँछ ।
यसले इन्धन खपत कम गर्न मद्दत पुर्याउने छ । हाल हिरो कम्पनीले आफ्नो पोर्टफोलियोमा उत्पादन हुने सबै मोडलमा आई–थ्री–एस प्रणाली लागू गर्ने तयारी गरेको छ ।
हिरोले विकास गरेको यस प्रविधिलाई अन्य अटो उत्पादक कम्पनीले समेत प्रयोग गर्न थालेका छन् । हिरो कम्पनीले आफ्ना सबै मोडलमा सन् २०२० अप्रिल १ गतेबाट यो प्रविधि कार्यान्वयनमा ल्याउने जनाएको छ ।

