नेक्सन इभीको प्रतिस्पर्धी बन्ला चौधरी ग्रुपले ल्याउने ‘नेटा भी’, यस्ता छन् फिचर

काठमाडौं । विश्व बजारमा इलेक्ट्रीक सवारीसाधनको चर्चा चुलिएको छ । अत्याधुनिक प्रविधिको प्रयोग, जीरो इमिसन तथा संचालन खर्च एकदमै कम लाग्ने हुँदा नेपालमा पनि इभीको माग अत्याधिक बढी रहेको छ ।

अहिले पुराना स्थापित अटोमोवाइल घरानादेखि औद्योगीक घरानासम्मको नजर इभीमा रहेको छ । त्यसैले त गुगलमा पनि इभी कम्पनीको सर्च धेरै हुने गरेको देखाउँछ ।

नेपालकै पुरानो औद्योगीक र ब्यापारीक घराना चौधरी ग्रुपले पनि कारको ब्यवसायमा हात हालेको छ । सिजी मोटर नामबाट स्थापना भएको कम्पनीले चाँडै विद्युतीय कार नेपाल ल्याएर विक्री गर्ने चौधरी ग्रुपका म्यानेजीङ डाइरेक्टर निर्वाण चौधरीले केही दिनअघि टुइटर मार्फत जानकारी दिएका थिए ।

चौधरी ग्रुप स्रोतका अनुसार सिजी मोटरले ल्याउन लागेको इभी चीनमा सन् २०१४ मा स्थापीत ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’को हो । जीजीयाङ प्रान्तमा रहेको यो कम्पनीको आरएण्ड डी सेन्टर क्यालीफोर्नीयाको सिलीकन भ्याली र डिजाइन सेन्टर बेइजीङमा रहेको छ ।

कम्पनीले सन् २०१७ मा पहिलो कन्सेप्ट कार देखाएको थियो । जसलाई सन् २०१८ मा नेटा एन-जीरो-वानको नामबाट ल्याएको थियो । कम्प्याक्ट एसयूभी डिजाइनमा पहिलो गाडी ल्याएको कम्पनीले सन् २०१९ मा नेटा यू मोडल र सन् २०२० मा ४ मिटर हाराहारीको सीयूभी नेटा भी लन्च गरेको थियो । कम्पनीले सन् २०२१ मा कम्प्याक्ट सेडान नेटा एस पनि लन्च गरिसकेको छ ।

विगत ४ वर्षमा लगातार चारवटा मोडल उत्पादन गरेको कम्पनीले आफ्नो बजार विस्तार तिब्र गतिमा गरेको देखिन्छ । अहिले कम्पनीसँग भएको गाडीको रेन्ज हेर्दा सुरुमा चार मिटर हाराहारीको छोटो नेटा भी नेपाल आउँने सम्भावना बढि छ । अहिले नेपाली बजारमा सबैभन्दा चल्तीको मोडल नै सब फोर मिटर एसयूभी हो । साथै, ट्याक्सीको रुपमा विक्री गर्न नेटा एस मोडल पनि आउन सक्छ ।

यस्तो छ नेटा भी

अगाडिबाट झट्ट हेर्दा टेस्लाको डिजाइन झल्को आउने नेटा भी आकर्षक सीयूभी हो । यो कारको लम्वाई ४०७० एमएम चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस २४२० एमएमको रहेको छ भने, ग्राउण्ड क्लिीयरेन्स १४६ एमएम छ । ग्राउन्ड क्लियरेन्स बाहेक यसको साइज, ब्याट्री लगायतमा सिधा प्रतिस्पर्धा टाटा नेक्सन इभीसँग हुने देखिन्छ ।

यो गाडीमा दुबै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । आकर्षक इन्टेरियर रहेको नेटा भीमा टेस्लाको जस्तो भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

यसमा दिइएको साँचो पनि फरक डिजाइनमा तयार भएको छ । स्पीनर समेत रहेको गोलो सेपको साँचो,  दुबै साइडमा फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ । यसको स्टेरिङ ह्वील स्पोर्टस कारबाट प्रेरित रहेको देखिन्छ । यो कारमा ड्राइभर इन्फर्मेसन डिस्प्ले पनि अन्य कारको जस्तो स्टेरिङ ह्वीलको पछाडि नभई ड्यासबोर्ड भन्दा माथि लामो स्लीक डिजाइनकाे फुल्ली डिजिटल छ । गियर सिफ्ट बटम स्टेरिङ ह्वीलसँगै राखिएको छ । क्यावीनका लाइटहरु टच सिस्टमबाट अनअफ गर्न सकिन्छ ।

कम्पनीले यसलाई दुई थरी मोटर र ब्याट्रीप्याकमा ल्याएको छ । यसमा सानो ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ ।

त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीको वेभ साइटमा उल्लेख छ । यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


Back_to_top