नेपालमा बन्ने इलेक्ट्रीक कार कहिले आउला बजारमा, यस्तो छ कम्पनीको तयारी

काठमाडौं । अहिले विद्युतीय कारको विषयले निकै चर्चा पाइरहेको छ । विशेषत सरकारले एक वर्षअघि बढाएको कर पुनः घटाएसँगै विद्युतीय कार चर्चामा आएको हो ।

अहिले बजारमा १९ लाख ५० हजारदेखि ७२ लाख रुपैयाँसम्मका विद्युतीय कार विक्री हुँदै आएको छ । तर, नेपालमा नै विद्युतीय कार बनाउन लागि परेको हुलास मोटर्सले आफ्नो पहिले कार के गर्दैछ भन्ने चासो बढी रहेको पाइन्छ ।

बजेट मार्फत नै सरकारले नेपालमा विद्युतीय गाडी उत्पादन गर्न विश्वका १० ठूला उत्पादकलाई नेपालमा आमन्त्रण गर्ने कुरा गरिरहदा नेपालमा नै विद्युतीय कार उत्पादन गर्न लागि परेको कम्पनीलाई वास्ता गरेको देखिदैन ।

‘सरकार विश्वका १० ठूला कम्पनी खोज्न निस्केको छ । यही भएको कम्पनीलाई उत्पादनमा प्रेरित गर्न कुनै काम गर्दैन । यसले सरकारले बोल्नको लागि मात्रै बोलेको हो जस्तो भान हुन्छ’, हुलास मोटर्सका महाप्रवन्धक प्रफुल्ल दासले मेरोअटोसँग भने ।

उनका अनुसार सरकारले तयारी सवारी साधनको भन्दा केही सहुलियत दिने हो भने यहाँ बन्ने गाडी प्रतिस्पर्धी मूल्यमा विक्री गर्न सकिने थियो । तर, सरकारले त्यतातर्फ ध्यान नै दिएको छैन ।

अटोमोवाइल क्षेत्रका व्यवसायीको साझा संस्था नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालले पनि तयारी विद्युतीय गाडी आयातको तुलनामा यही उत्पादन गर्नेलाई ५० प्रतिशत कम भन्सार र अन्तःशुल्कमा आयात गर्न दिनु पर्ने माग गर्ने गरेको थियो ।

‘सरकारले यसअघि नेपालमा एसेम्बल गर्न चाहने उद्योगलाई ५० प्रतिशत अन्तःशुल्कमा छुट दिने घोषणा गरेको थियो । तर, विद्युतीय गाडीमा अन्तःशुल्क पूर्ण रुपमा हटाएको अवस्थामा भन्सारमा ५० प्रतिशत छुट दिनु पर्ने थियो’, एक विद्युतीय गाडी आयातकर्ता कम्पनीका संचालकले भने ।

कहिले आउँछ हुलासको इलेक्ट्रीक कार ?

हुलासले नेपालमा उत्पादन गर्ने घोषणा गरेको विद्युतीय कार अघिल्लो वर्ष बढाइएको करको कारण रोकिएको कम्पनीले जनाएको छ ।

‘कोभिडको कारण काम रोकिएकै अवस्थामा एक वर्षअघि सरकारले कर बढायो । कर बढेसँगै बजारमा इभीको माग ठप्प भयो भने मूल्यका हिसावले पनि महंगो पर्ने भएसँगै हामी पर्ख र हेरको अवस्थामा पुग्यौ’, जनरल मेनेजर दासले भने ।

उनका अनुसार अब वातावरण सहज हुने हो भने कम्पनीले ६ महिना भित्रै हुलासको इलेक्ट्रीक कार बजारमा आउने छ । सुरुमा परिक्षणको लागि केही यूनिट तयार गर्नेगरि कम्पनीले काम गरिरहेको छ ।


Back_to_top