सवारी किन्न ऋण दिने हुलास फिनसर्भले कमायो ४० करोड नाफा

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफामा उछाल आएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८४.५ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आवमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८ करोड २६ लाख रुपैयाँ धेरै हो । कम्पनीले अघिल्लो वर्ष कुल २१ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले कर्जा प्रवाहबाट ९३ करोड ९१ लाख रुपैयाँ ब्याज र फी तथा कमिशनबाट ५६ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ९ अर्ब २७ करोड रुपैयाँ ऋण लिई १२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७७ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ३८ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जामा पनि सुधार आएको छ । अघिल्लो आवमा ३.४० प्रतिशत रहेको खराब कर्जा गत आवमा झण्डै आधारले घटेर १.८७ प्रतिशतमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४८.०४ रुपैयाँ र नेथवर्थ प्रतिसेयर २२७.४६ रुपैयाँ रहेको छ।

सन् २०१२ मा स्थापना भएको हुलास फिनसर्भ गोल्छा ग्रुप अन्तर्गतको कम्पनीको हो । यसको अध्यक्ष उद्योगी शेखर गोल्छा रहेका छन् ।

कम्पनीले आगामी दिनमा पनि सन्तुलित तथा दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनी चाँडै सेयर बजारमा आउँदै छ । कम्पनीले पौने २१ लाख कित्ता आइपीओ जारी गर्न एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


Back_to_top