सवारी किन्न ऋण दिने हुलास फिनसर्भको नाफामा उछाल, आइपीओ ल्याउँदै

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफामा उछाल आएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को अपिरष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२१.८७ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा २१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०८०/८१ कोभन्दा झण्डै १२ करोड रुपैयाँ धेरै हो । कम्पनीले अघिल्लो वर्ष ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले कर्जा प्रवाहबाट २२ करोड ३७ लाख रुपैयाँ र फी तथा कमिशनबाट ४६ करोड ८२ लाख गरी कुल ६८ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लिई ८ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४५ करोड ६४ लाख रुपैयाँ र अन्य जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जामा पनि सुधार आएको छ । अघिल्लो वर्ष ५.७८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.४० प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँ र नेथवर्क प्रतिसेयर १७९.६३ रुपैयाँ रहेको छ।

सन् २०१२ मा स्थापना भएको हुलास फिनसर्भ गोल्छा ग्रुप अन्तर्गतको कम्पनीको हो । यसको अध्यक्ष उद्योगी शेखर गोल्छा रहेका छन् ।

कम्पनी चाँडै सेयर बजारमा आउँदै छ । कम्पनीले पौने २१ लाख कित्ता आइपीओ जारी गर्न एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


Back_to_top