काठमाडौं । निकै ठूलो आशंका, उत्सुकता र अपेक्षाका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सम्पन्न भएको छ । समापन समारोहमा देखिएको उत्साह, उमंग र उपस्थितिले एक्स्पो सफलतापूर्वक सम्पन्न भएको सहजै अनुमान लगाउन सकिन्छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो पहिलो संस्करण थियो । विगतमा १६ संस्करण सफलतापूर्वक सम्पन्न भएको नाडा अटो शोबाट अलग भएर नयाँ एक्स्पो आयोजना हुँदा सफलतापूर्वक सम्पन्न होला वा नहोला भन्ने आशंकमा धेरैमा थियो । त्यो आशंका सबैभन्दा बढी नाइमाका बोर्डमा रहेको सदस्यहरूमै मैले पाएको थिएँ ।
आशंकासँगै नाइमाका पदाधिकारीमा उमंग पनि थियो । किनभने दशैं आउन करिब एक महिना १० दिन अगाडि उनीहरूको एक्स्पो सकिँदै थियो । अवलोकनकर्ता धेरै आएको खण्डमा दशैंसम्ममा त्यसलाई सेल्समा परिवर्तन गर्ने अवसर उनीहरू माझ हुने थियो । यी सबै कुरा पाउन अवलोकनकर्ताको उपस्थिति पहिलो र अन्तिम सर्त थियो ।
सुरूमा ५ दिनको लागि भनेर प्रचार प्रसार भएको एक्स्पोपछि १ दिन थप गरियो । यसले ५ दिनमा अवलोनकनकर्ताको उपस्थितिलाई पुष्टि गर्यो । आयोजकले अनुमान गरेभन्दा राम्रो उपस्थिति भएपछि एक दिन थप गरियो । ६ दिनमा १ लाख हाराहारी अवलोकनर्ता पुगेको आयोजकले समापन समारोहमा जानकारी दिएको थियो ।

नेपालमा हुने अटो शोलाई जहिल्यै बुकिङ कति भयो भन्ने विषयसँग जोडर हेरियो । भन्न प्रदर्शनी भनिए पनि कम्पनीहरूको लक्ष्य बिक्री हुनु स्वभाविक हो । नेपाल बाहिर उत्पादन भएर आएका गाडी यहाँ बिक्री गर्ने पहिलो लक्ष्य हुनु स्वभाविक पनि हो । त्यसैले गाडी बिक्रेताले बुकिङलाई प्राथमिकतामा राख्ने नै भए ।

तर, आयोजक नाइमाले भने बुकिङ कति भयो भन्ने विषयमा केही पनि बाहिर ल्याएन । हचुवा र गफका भरमा केही मिडियाले भने यति र उति बुकिङ भनेर समाचार बनाए । ती समाचारको स्रोत मिडिया आफैँ रहेको नाइमाको भनाइ छ ।
विगतको भन्दा के फरक देखियो ?
यसको सहज उत्तर हो ‘स्टलहरू ठूला थिए ।’ पक्कै पनि ठूला स्टल, सफा स्टल, हो हल्ला कम, हरेक स्टलले आफ्ना ग्राहकलाई खुसी बनाउन राखेका पानी, कफी, आइसक्रिम, पपकन, गिफ्ट जस्ता कुरा निकै व्यवस्थित थियो ।
दोस्रो महत्वपूर्ण कुरा अपाङ्गतामैत्री हिसाबले डिजाइन गरिएको हिँड्ने र घुम्ने रुट निकै उत्कृष्ट थियो । ह्वीलचेरमा आएर एक्स्पो अबलोकन गर्नेहरू पनि भेरिए । यसले नाइमा मोबिलिटी एक्स्पोको उचाइलाई थप माथि लग्यो ।
स्टलहरूको डिजाइन र ले–आउट हेर्दा पनि भारत र चीनमा हुने ठूला अटो एक्स्पोभन्दा कम थिएन । कम केबल उनीहरूको स्टल स्पेशको तुलनामा सानो मात्रै थियो । त्यसैले यी कुराहरू विगतमा नेपालमा आयोजना हुने अटो शोभन्दा पृथक लाग्थ्यो । अझ अचम्मको कुरा भृकुटीमण्डपको हलमाभन्दा बाहिर डोममा बनाइएका स्टलहरू घुम्न सजिलो र शितल थिए ।

चार जनाको जोडीले रच्यो इतिहास
नाइमाले आयोजना गरेको कारण संस्थाको नाम र नेतृत्वको नाम त अगाडि आउने नै भयो । तर, यसलाई संयोजन गर्ने एक्स्पो कमिटिलाई भुल्न कसरी मिल्छ । चार युवा व्यवसायीहरूको टीमले यसलाई हाँकेका थिए ।
एक्स्पो कमिटिको संयोजक थिए शिरिस मुरारका, साथमा गौरव शारडा । यी दुवै नाइमाका साधारण सदस्य हुन् । उनीहरू बोर्डमा पनि छैनन् । बोर्डमा रहेका निराकार श्रेष्ठ पनि उक्त कमिटिमा थिए । अझ बोर्ड र साधारण सदस्य समेत नरहेका आकाश गोल्छा समेत कमिटिमा थिए ।
उनीहरू मेला अवधिमा देखिए, त्यसअघि टीमले काम गरेको थियो । उनीहरूको प्रष्ट भिजन र योजनाले एक्स्पोले भव्यरूप लिँदै सफलतापूर्वक सम्पन्न भयो ।
केही कमजोरी नै भएनन् त ?
कमजोरी पनि पक्कै थिए । बैंक र बीमा कम्पनी एउटा/एउटा मात्रैलाई जोड्नु आयोजकको कमजोरी हो । बैंक र बीमा कम्पनीको छनोट उपभोक्तालाई ध्यानमा राखेर होइन, आयोजकको स्वार्थलाई केन्द्रमा राखेर गरेको देखियो । यदि, धेरै बैंक र बीमाको उपस्थिति दिइएको भए, उपभोक्ताले पनि फाइदा पाउँथे ।

इन्ट्री गेटपछि हेर्दै अगाडि जाने र पहिले हेरेको गाडी मन परेको थियो भने फर्केर आउन सहज थिएन । सुरक्षाका लागि परिचान भएका गार्डहरूलाई सभ्य र भव्य उपस्थितिमा मानिसलाई कसरी सहजीकरण गर्नुपर्छ भन्ने कुरा सिकाएको पाइएन ।
फुड स्टल दिने विषयमा पनि केही कमजोरी भयो कि जस्तो देखियो । अवलोकनकर्ताले त्यहाँ खर्च गरेर खान्थे वा खाँदैन्थे त्यो अर्को कुरा हो । तर, कम्पनीबाट खटिने धेरैले राम्रो रेष्टुरेन्टहरूलाई स्टल दिएको भए, उत्कृष्ट फुडको मजा लिन पाउँथे ।
यी र यस्तै किसिमका सानातिना कमजोरी भए । यसले आयोजकलाई भोलिको दिनमा सुधार गर्न थप सहज होला ।

