काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि दिँदै आएको भिजिटर पास वितरण बन्द गरेको छ ।
विमानस्थलले एक सार्वजनिक सूचना जारी गर्दै आज (साउन २७ गते) भिटिजर पास वितरण बन्द गरिएको जानकारी गराएको हो ।
विमानस्थलमा अनावश्यक भीड कम गर्न र यात्रुलाई आवश्यक सहजीकरण वायुसेवाले नै गर्ने भएकाले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समिति’ को निर्णय अनुसार भिजिटर पास वितरण बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
यससँगै आजदेखि यात्रुका आफन्त तथा अन्य व्यक्तिहरू पास लिएर टर्मिनल भवनभित्र प्रवेश गर्न पाउने छैनन् ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आगमन गर्ने सहायता आवश्यक पर्ने बृद्धबृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका, गर्भवती एंव नाबालक यात्रुहरूका लागि सहायता कक्षको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
साथै, यी यात्रुहरूका लागि सहायता कक्ष र ह्वीलचेयर लगायतका विशेष सहयोगको प्रबन्ध पनि एयरलाइन्स कम्पनीहरूले नै गर्नेछन् ।
चेक इन, ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिन यात्रुलाई अनुरोध गरेको छ ।

