हुम्लालाई देशभर जोड्न खार्पुनाथ तगारो, कहिलेदेखि चल्छन् बाह्रै महिना गाडी ?

काठमाडौं । नेपालमा राष्ट्रिय राजमार्गको लम्बाइ ३४ हजार किलोमिटर (किमी) बढी छ । देशका ७७ जिल्ला मध्ये ७६ जिल्ला सदरमुकाममा बाह्रै महिना गाडी पुग्छन् । तर, कर्णालीको विकट जिल्ला हुम्ला सदरमुकाम सिमिकोटमा भने हिउँद याममा मात्र गाडी पुग्ने अवस्था छ ।

सदरमुकामसम्म राष्ट्रिय सडक पुग्ने हुम्ला सबैभन्दा कान्छो जिल्ला समेत हो । नेपाली सेनाले २०८१ वैशाखमा कर्णाली करिडोर अन्तर्गत हुम्लाको लालीबगर-दुल्लीकुना खण्डको ११ किमी ट्रयाकको ब्रेक थ्रु गर्दै सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडेको थियो । यद्यपि, हुम्लालाई अझै औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको जिल्ला घोषणा गरिएको छैन ।

सिमिकोटसम्म सडक पुगे पनि बाह्रै महिना गाडी पुग्ने अवस्था छैन । जसमा खार्पुनाथ मुख्य तगारो बनेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकका-५ स्थित चुवाखोलामा पुल नहुँदा वर्षायाममा गाडी सिमिकोट पुग्न असम्भव छ । हिउँदमा पानीको सतह घट्दा खोलैबाट गाडी तर्ने भए पनि वर्षालाग्ने बित्तिकै वारी नै रोकिनुपर्ने अवस्था छ ।

यद्यपि, अब केही महिना भित्रै खार्पुनाथमा बेलिब्रिज निर्माण हुने भएको छ । नेपाली सेनाले खार्पुनाथमा बेलिब्रिज निर्माणका लागि प्रक्रिया समेत अघि बढाइसेको छ ।

नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) गौरवकुमार केसीले खार्पुनाथमा बेलिब्रिज निर्माण प्रक्रिया सुरू भइसकेको जानकारी दिए । उनले अबको ३ महिनाभित्र बेलिब्रिज जडान भइसक्ने बताए ।

‘खार्पुनाथमा बेलिब्रिज जडान प्रक्रिया सुरू भइसकेको छ । सेनाले सामग्री खरिद लगायत प्रक्रिया अघि बढाइसकेको छ,’ उनले मेरोअटोसँग भने, ‘कम्तीमा अबको ३ महिना भित्र बेलिब्रिज जडान गर्ने लक्ष्य छ । सोही अनुसार काम भइरहेको छ ।’

खार्पुनाथमा बेलिब्रिज जडान भएपछि बाह्रै महिना हुम्ला सदरमुकाम सिमिकोट पुग्न सकिने छ । खार्पुनाथ दोभानसँगै सहजै सिमिकोट पुग्न भीर र चट्टान पनि बाधक बनेका छन् । तर, चट्टानी भीरको साँघुरो सडकको तगारो हटाउने काम पनि सेनाले सँगसँगै गरिरहेको छ ।

कर्णाली करिडोर अन्तर्गत सेनाले कुल २२.०५ किमी सडक निर्माणको जिम्मा पाएको छ । सोमध्ये हालसम्म १५.२८ किमी ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।

नेपाली सेनाले हाल कालीकोट-बाजुरा जोड्ने घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोलाको ११.५ किमी सडकको नयाँ ट्रयाक खोल्ने काम गरिरहेको छ । जसमध्ये हालसम्म साढे ५ किमी ट्रयाक खोलिसकिएको छ भने अब ६ किमी मात्र बाँकी छ । यसखण्डमा यसअघि नै सडक बनिसके पनि सेनाले दुरी छोट्याउन एलाइमेन्ट परिवर्तन गरी नयाँ ट्रयाक खोलिरहेको हो ।

कर्णाली करिडोरमा हालसम्म कति काम भयो ?

कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि चिनियाँ नाका हिल्सासम्म २६९ किमीलाई दुई खण्डमा विभाजन गरी सडक निर्माण भइरहेको छ ।

दक्षिण खण्ड (खुलालु-सलीसल्ला) १२३ किमी र उत्तर खण्ड (सिमिकोट-हिल्सा १४६ किमी) रहेको छ । दक्षिण खण्डको १२३ किमी नै ट्रयाक खुलिसकेको छ ।

कर्णाली कोरिडोर दक्षिण खण्ड (खुलालु-सल्लीसल्ला) सडक योजना प्रमुख तुलाराम शर्माले कालिकोटको खुलालुदेखि हुम्लाको सलीसलासम्मको १२३ किमी सडकै ट्रयाक खुलिसकेको बताए । उनले यस खण्डको ३० किमी सडक ग्राभेल र १ किमी ढलान भइसकेको जानकारी दिए । साथै, कल्भर्ट निर्माण, साँघुरा ठाउँमा फराकिलो बनाउने काम भइरहेको उनको भनाइ छ ।

उनले ५० किमी सडकको कालोपत्र गर्ने प्रक्रिया समेत अघि बढाइएको जानकारी दिए । उनका अनुसार ५० किमी सडक कालोपत्र गर्न स्रोत सुनिश्चित भई दुई खण्डमा ठेक्का आह्वान गरिएको छ । सिलुचौर-कुबाडी २३.७ किमी र कुबाडी-तुम्चा २७.३ किमीका लागि छुट्टाछुट्टै खण्डका ठेक्का लगाइ कालोपत्र गरिने उनले बताए । जेठ भित्रै ठेक्का लगाई आगामी आवदेखि कालोपत्रको काम सुरू हसने उनले बताए ।

‘खुलालु-सलीसल्ला खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ भने ३० किमी ग्राभेल र १ किमी ढलान गरिसकिएको छ,’ उनले मेरोअटोसँग भने ‘आगामी ३ वर्षभित्र ५० किमी कालोपत्र गर्ने लक्ष्य छ । वहुवर्षे ठेक्का प्रक्रिया अघि बढाइ कम्पनी छनोट अन्तिम चरणमा पुगिएको छ । अबको एक साताभित्र कम्पनीको टुंगो लाग्छ ।’

त्यस्तै, करिडोरको उत्तर खण्ड (सलीसल्ला-सिमिकोट-हिल्सा) १४६ किमी सडकको पनि ट्रयाक खोल्ने काम लगभग सकिएको छ । कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) सडक योजना निमित्त प्रमुख ई. बेलबहादुर नेपालीका अनुसार सिमिकोट बजार क्षेत्रमा करिब ८०० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । उक्त क्षेत्रमा जग्गा विवादका कारण स्थानीले अवरोध गरेका छन् । यद्यपि, वैकल्पिक सडक मार्फत हिल्सासम्मै यातायात संचालन भइरहेको उनले बताए ।

‘उत्तर खण्डमा ८०० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । स्थानीयको अवरोधका कारण रोकिएको छ,’ उनले मेरोअटोसँग भने, ‘चाँडै विवाद समाधन भई ट्रयाक खोलिने छ ।’

योजना प्रमुख नेपालीका अनुसार उत्तर खण्ड अन्तर्गत हिल्सा-यारी, एलबम, धारापरी क्षेत्रको २५ किमी सडक ग्राभेल भइरहेको छ । यसखण्डमा हालसम्म कालोपत्रको योजना अघि बढेको छैन् । आगामी वर्षमा प्राप्त हुने बजेटका आधारमा ग्राभेल तथा स्तरोन्नतिको काम अघि बढाइने उनको भनाइ छ ।

सलीसल्ला-हिल्सा खण्डमा २ वटा पक्की पुल बनिसकेको छ भने ३ वटा निर्माणाधीन अवस्थामा रहको उनले बताए । साथै, अफ्ठेरो ठाउँमा सेनाले सडक फराकिलो बनाउने काम पनि गरिरहेको छ ।

कर्णाली करिडोर पनि नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्ने यो सडक ५०५ किमी लामो छ ।

आयोजनाको अनुमानित लागत २० अर्ब रुपैयाँ रहेकोमा हालसम्म १ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ ।


Back_to_top