काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल ९ हजार ८५० विद्युतीय जीप-कार-भ्यान आयात भएका छन् । अहिले नेपालमा चीन, भारत, मलेसिया, जर्मनी, अमेरिकादेखि इन्डोनेसियामा उत्पादन भएका विद्युतीय कारहरू आइरहेका छन् ।
विद्युतीय साधनमा अग्रणी मानिएको चीनबाट ठूलो परिमाणमा विद्युतीय साधन आयात भएका छन् । चालु आवको १० महिनामा चीनबाट मात्रै ७ हजार ३४४ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएका छन् । जुन कुल आयातको ७४.५५ प्रतिशत हो ।
त्यसैगरी, ईभी आयात हुने देशमा भारत दोस्रो स्थानमा आउँछ । भारतबाट यस अवधिमा २ हजार ४१४ युनिट विद्युतीय कार आयात भएका छन् । जुन कुल आयातको २४.५० प्रतिशत हो ।
भारत र चीन बाहेक अन्य देशबाट आउने गाडीको संख्या केबल ९२ युनिट छ । यसमा मलेसिया, जर्मनी, अमेरिका, दक्षिण कोरिया र इन्डोनेसियाबाट आयात भएका गाडी छन् ।
कुन साइजको गाडी कति आयात ?
कारका दर सबैभन्दा कम भएको ५० किलोवाट पीकपावरसम्मका कार जीप भ्यान चीनबाट १ हजार ९०० युनिट आयात हुँदा भारतबाट १ हजार ४६६ युनि आयात भएका छन् । यो सेग्मेन्टमा इन्डोनेसियाबाट ३ युनिट कार आयात भएको छ । यहाँ चीन र भारतका उत्पादन बीच राम्रै प्रतिस्पर्धा देखिन्छ ।
त्यसैगरी, सर्वाधिक सफल सेग्मेन्ट पीकपावर ५१ देखि १०० किलोवाटसम्म भएको सेग्मेन्ट हो । यहाँ चिनियाँ कारको दबदबा देखिन्छ । चीनबाट १० महिनाको यो सेग्मेन्टमा ४ हजार ५९७ युनिट विद्युतीय कार आयात हुँदा भारतबाट केबल ९३६ युनिट आयात भएको छ । १०० किलोवाटसम्मको सेग्मेन्टमा दक्षिण कोरियाबाट एक युनिट कार आयात भएको छ ।
चालु आर्थिक वर्षमा राम्रै संख्यामा आयात भएको १०१-२०० किलोवाटसम्म पीकपावर भएका गाडीमा पनि चीन निकै अगाडि देखिन्छ । यस अवधिमा चीनबाट ८३४ युनिट कार आउँदा भारतबाट ९ युनिट, जर्मनीबाट २६ युनिट, मलेसियाबाट ५० युनिट, अमेरिकाबाट ५ युनिट र कोरियाबाट ३ आयात भएको छ ।
धेरै मोटर पावर मानिने २०१-३०० किलोवाटसम्मका कार जीप भ्यानमा पनि चीन नै अगाडि छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चीनबाट ११ युनिट, जर्मनीबाट ६ युनिट र अमेरिकाबाट एक युनिट आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ ।
३०० किलोवाट माथि पीक पावर भएको कार २ युनिट मात्रै आयात भएको छ । त्यो पनि चीनबाटै आयात भएको हो ।
कुल आयातमा कति गयो पैसा ?
चालु आर्थिक वर्षको १० महिनामा आयात भएको ९ हजार ८५० युनिट विद्युतीय कार ल्याउन २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ खर्च भएको छ । उक्त परिमाणको आयातमा सरकारले राजस्व १४ अर्ब २४ करोड ७९ लाख ७८ हजार रुपैयाँ प्राप्त गरेको छ ।

