हस्कभर्नाले १२५ सीसीको मोटरसाइकल अर्को महिना बजारमा ल्याउने

काठमाडौं । हस्कभर्नाले इन्ट्री लेवल स्क्र्याम्लर मोटरसाइकल स्भर्टपिलियन १२५ यूरोपियन बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी फेब्रुअरीमा नयाँ इन्ट्री लेवल मोटरसाइकल ल्याउने भएको हो ।

स्विडेनको आइकोनिक मोटरसाइकल निर्माता कम्पनी हस्कभर्नाले यसमा १२४.७ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । १२५ सीसी क्षमताको उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १५ हर्स पावर र ७५०० आरपीएममा १२ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

मोटरसाइकलमा अगाडि ४३ एमएमको डब्ल्यूपी एपेक्स यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसमा अगाडि ३२० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ । बाइकमा बोष्चको ड्यूल च्यानल एबीएस दिइएको कम्पनीले जनाएको छ ।

निकै आकर्षक डिजाइनमा आएको यो मोटरसाइकलले यूवा वर्गलाई लोभ्याउने अनुमान गरिएको छ । यसको बडी डिजाइन सेग्मेन्टमा नै यूनिक रहेको छ । नयाँ मोटरसाइकलमा राउन्ड एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, राउन्ड सेपमा डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिएको छ ।

कम्पनीले यूरोपियन बजारमा यसलाई ५ हजार डलर हाराहारी मूल्य राखेर विक्री गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

नेपाली बजारमा हस्कभर्नाका २५० सीसी क्षमताका स्भर्टपिलियन र भिटपिलियन विक्री वितरण हुँदै आएको छ ।


Back_to_top