हुन्डाई, मारुती सुजुकी र डाट्सनका इन्ट्री लेवल कारमा अफर, कुन किन्न सजिलो

काठमाडौं । तत्काल थोरै रकम तिरेर कार किन्न चाहने ग्राहकलाई लक्षित गर्दै डाट्सन, हुन्डाई र मारुती सुजुकीको उत्पादनमा विशेष अफर आएको छ । कोभिड १९ को कारण लामो समयदेखि व्यवसाय बन्द रहेको र नयाँ गाडी किन्ने ग्राहकलाई केही फाइनान्सीयल स्कीम हुने भन्दै यी कम्पनीले अफर ल्याएका हुन् ।

अहिले हुन्डाईले आफ्नो इन्ट्री लेवल कारको रुपमा सेन्ट्रो बिक्री गर्दै आएको छ भने मारुती सुजुकीले अल्टो र डाट्सनले रेडी गो बिक्री गर्दै आएको छ ।

मूल्यको हिसावले मारुती सुजुकी अल्टो सबैभन्दा कम मूल्यको कार हो । यसको मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ ।

त्यसैगरि हुन्डाई सेन्ट्रो यी दुईको तुलनामा केही महंगो मोडल हो । यसको मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नगद छुट

तुलनात्मक रुपमा महंगो रहेको हुन्डाई सेन्ट्रोमा १ लाख रुपैयाँ नगद छुट रहेको छ भने अल्टोमा ९० हजार रुपैयाँ छुट पाउन सकिन्छ । साथै, डाट्सनले रेडी गोमा ७५ हजार रुपैयाँ नगद छुट गरेको छ ।

डाउन पेमेन्ट

हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसको मूल्य २३ लाख ९६ हजारमा कम्पनीले १ लाख नगद छुट दिएको कारण ग्राहकले डाउन पेमेन्ट बापत ११ लाख ४८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

मारुती सुजुकीले अल्टोमा २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने अफर ल्याएको छ । यो अफरमा अल्टो किन्नेले गाडीको मूल्य १८ लाख ९९ हजारको २० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । अल्टो किन्ने ग्राहकले ३ लाख ७९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ ।

त्यसैगरि डाट्सन रेडी गो किन्न चाहने ग्राहकले यसको सुरुवाति मूल्य १९ लाख ९९ हजार रुपैयाँमा ७५ हजार घटाएर आउने रकमको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । रेडी गोको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ । तर, कम्पनीले डाउन पेमेन्टपनि ५ लाख ७७ हजार २ सय रुपैयाँ सुरुमा र बाँकी ३ लाख ८४ हजार ८ सय रुपैयाँ चार महिना भित्र तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

अन्य छुट

अल्टोमा ग्राहकले एक वर्षको वीमा, सडक दस्तुर छुट पाउछन् भने सेन्ट्रोमा एक वर्षको सडक दस्तुर, ४ वर्षको सर्भिस निःशुल्क पाउने छन् । रेडी गोका ग्राहकले एक लाख रुपैयाँ बराबरको एसोसरिज, एक वर्षको बीमा शुल्क र सडक दस्तुर आफै तिर्ने जनाएको छ ।

मासिक किस्ता

मासिक किस्तामा हुन्डाईले एक वर्षसम्म ५० प्रतिशत व्योहोर्ने जनाएको छ । सेन्ट्रोको मासिक किस्ता १७ हजार ५५३ रुपैयाँ पर्छ । एक वर्षसम्म कम्पनीले ५० प्रतिशत व्योहोरेपछि दोस्रो वर्षबाट ग्राहक आफैले पुरै किस्ता तिर्नु पर्छ । होन्डाईले ८ वर्षे किस्तामा सेन्ट्रो उपलब्ध गराउने जनाएको छ ।

रेडी गोको मासिक किस्ताको सम्पूर्ण रकम कम्पनीले ६ महिना तिरिदिने अफर गरेको छ । ६ महिनापछि ग्राहकले नै सम्पूर्ण रकम तिर्नु पर्ने हुन्छ । रेडी गोको मासिक किस्ता करिब १६ हजार हाराहारीमा पर्छ ।

अल्टो किन्ने ग्राहकले ८ वर्षसम्म मासिक १३ हजार ९१३ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।


Back_to_top