काठमाडौं । हुन्डाईले भारतमा उत्पादन गरेको क्रेटा ईभी आजबाट बिक्री सुरु हुँदैछ । कोरियन कार निर्माताले धेरै फिचरहरु आयोनीक-५ र कोना ईभीबाट लिएर क्रेटा इलेक्ट्रीक तयार पारेको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसअघि पेट्रोलबाट चल्ने क्रेटा नै १० हजार युनिटभन्दा धेरै बिक्री गरेको कारण इलेक्ट्रीक क्रेटा पनि राम्रो संख्यामा बिक्री गर्ने लक्ष्य राखेको छ ।
‘हुन्डाईका गाडी चढेर सन्तुष्ट बनेका ग्राहकलाई लान सकिए मात्रै पनि हामी इलेक्ट्रीकमा बलियो हुन्छौं । विगत ७–८ वर्षको ईभी सर्भिसको अनुभव हामीसँग छ । त्यसैले हुन्डाई क्रेटा ईभी किन्दा सबै किसिमको प्याकेज उपभोक्ताले पाउने छन् । हामी क्रेटा ईभीले नयाँ बेन्चमार्क तय गर्नेमा ढुक्कछौं’, लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दीपक थपलियाले भने ।
ईभी आफ्नो युनिक फ्रन्ट र बडी डिजाइनको कारण सधैं चर्चामा रहेको क्रेटा ईभी पनि राम्रो देखिन्छ । ईभीमा आउँदा थपिएको कलर अप्सन, क्लोज अफ ग्रिल, एक्टीभ एयर फ्ल्याप जस्ता फिचरले यसको फ्रन्टलाई आकर्षक देखाएको छ ।
नयाँ कोना इलेक्ट्रीकबाट प्रेरित थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ ।
यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।
हुन्डाईले क्रेटा ईभी ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध गराउने छ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिइएको छ । जसले सिंगल चार्जमा ३९० किलोमिटर रेन्ज दिने भनिए पनि ३०० प्लस किलोमिटर आउने अनुमान गर्न सकिन्छ ।
ठूलो ब्याट्रीको साइज ५१.४ किलोवाट आवर हो । यो ब्याट्रीसँग १२६ किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ४७३ किलोमिटर रेन्ज दिने एआरएआई टेस्टले देखाए पनि सडकमा ४०० किलोमिटर आसपास रेन्ज आउने अपेक्षा गर्न सकिन्छ ।
कति पर्ला मूल्य ?
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अहिलेसम्म यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन । सानो ४२ किलोवाट आवर क्षमताको ब्याट्री भएको मोडलको मूल्य ५० लाखदेखि ६० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।
ठूलो मोटर र ब्याट्री साइज भएको क्रेटा ईभीको मूल्य ५५ लाखदेखि ६५ लाख रुपैयाँ भित्र पर्ने अनुमान गरिएको छ ।

