क्रेटाको बिक्रीमा उछाल, ईभी बलियो कि पेट्रोल ?

काठमाडौं । सन् २०२५ लागेसँगै क्रेटाको बिक्रीमा उछाल आएको छ । कम्पनीले नयाँ वर्ष लागेसँगै क्रेटा ईभीको प्रचार प्रसार धेरै गरेको थियो । दक्षिण एशियाली बजारमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी भएको कारण पनि यसको ईभी चर्चामा आउनु स्वभाविक थियो ।

नेपाली बजारमा चिनियाँ ईभीको बढ्दो प्रभावसँगै हुन्डाईका दुई ईभी कोना र आयोनिक–फाइभले सोचेजस्तो व्यापार गर्न सकेका थिएनन् । ईभीको चर्चा र बिक्री धेरै चलिरहेको समयमा आएको क्रेटा ईभीमा थप चासो हुनु स्वभाविक थियो ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मार्चको अन्तिममा क्रेटाको पेट्रोल र इलेक्ट्रीक भर्सनलाई एक साथ सार्वजनिक गर्यो । कम्पनीले नेपालमै एसेम्बल गरेको पेट्रोल क्रेटा र भारतमा दुई महिना अगाडि बिक्री सुरू गरेको इलेक्ट्रीक क्रेटालाई एक साथ सार्वजनिक गरेको थियो ।

हुन्डाई नेपालले पेट्रोल र इलेक्ट्रीक क्रेटा एक साथ सार्वजनिक गर्दै क्रेटा किन्नुहोस् भन्यो । छनोट तपाईंको लागि उपयुक्त कुन हो आफैँ स्मार्ट निर्णय लिनुहोस् भनेको थियो । त्यसको ठ्याक्कै ४५ दिनपछि बजारमा क्रेटाको बिक्रीमा उछाल आएको छ ।

कति बिक्री भयो ४५ दिनमा ?

हुन्डाईको आधिकारिक बिक्रेताले एकिन तथ्यांक बाहिर ल्याएको छैन । कम्पनीले आफ्नो बिक्री तथ्यांक बाहिर नल्याए पनि ४५ दिनको अवधिमा २०० युनिट हाराहारी क्रेटा बजारमा गएको विभिन्न डिलरहरूसँगको कुराकानीको आधारमा अनुमान गर्न सकिन्छ ।

कम्पनीले बिक्री गरेको क्रेटामा ईभीको तुलनमा केही युनिट पेट्रोल नै बढी देखिएको छ । नेपालमा एसेम्बल भएसँगै मूल्य झण्डै ९ लाख रुपैयाँसम्मले घट्दा उपभोक्ता पेट्रोलमा बढी आकर्षित भएको हुनसक्छन् ।

उसोत कम्पनीले १०० युनिटको हाराहारीमा ईभी पनि बिक्री गरिसकेको जनाएको छ । कम्पनीले ठ्याक्कै बिक्री भएको युनिट नबताएपछि ९० देखि १०० युनिटको बीचमा क्रेटा ईभी बिक्री भएको अनुमान गर्न सकिन्छ ।

कम्पनीले अहिले नेपालमा रहेको एसेम्बल प्लाण्ट आफ्नो पूर्ण क्षमतामा चलाउन थालेको छ । त्यसले पनि पेट्रोल क्रेटाको माग उच्च रहेको संकेत गर्छ ।

देशभर ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गर्दै हुन्डाई

सन् २०२३ र २०२४ मा आफुलाई निकै शान्त राखेको लक्ष्मी हुन्डाईले अबभने निकै आक्रमक मार्केटिङ सुरू गरेको छ । कम्पनीले सबै सहरमा हुन्डाईको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गर्दैछ ।

पूर्वबाट सुरू भएको मिट एण्ड ग्रिट कार्यक्रम विस्तारै पश्चिम क्षेत्रका सहरतिर अगाडि बढ्दैछ । यस कार्यक्रममा कम्पनीले आफ्नो गाडी बिक्रीको योजनासँगै नेपालमा खुलेको उत्पादन प्लाण्ट र भोलिका दिनमा कम्पनीले दिने सेवाको विषयमा उपभोक्तालाई जानकारी दिँदैछ । साथै, नयाँ इलेक्ट्रीक क्रेटा पनि मोसफलका सहरमा लन्चिङ गर्दै अगाडि बढेको छ ।

रिल्याक्स सेन्टर थपिँदै

हुन्डाईले सुरूमा चार्ज सपको कन्सेप्ट सार्वजनिक गर्दै डीसी चार्जर सहितको रिपियर सुविधा पनि दिने जनाएको थियो । उक्त चार्जशपलाई कम्पनीले रिल्याक्स नामाकरण गरेको हो । कम्पनीले राखेको नाम अनुसार रिको अर्थ ‘रिचार्ज र रिपियर’ हो । त्यस्तै लक्ष्मीको ‘ल्याक्स’ मिलाएर नामाकरण गरेको हो ।

अहिलेसम्म लक्ष्मी इन्टरकन्टिनेन्टलले १७ स्थानमा रिल्याक्स सेन्टर सपना गरेको जनाएको छ । जहाँ डीसी चार्जरसहित रिपियरको सुविधा पनि उपलब्ध हुनेछ । कम्पनीले हाइवेलाई ध्यानमा राखेर ५ स्थानमा रिल्याक्स सेन्टर बनाएको छ । अन्य १२ स्थान व्यापारिक क्षेत्रमा छन् ।


Back_to_top