नेपाल आयो ५ लाख सस्तो हुन्डाई ‘ग्राण्ड आई १० नियोस’

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो पटक इरा भेरियन्टको ग्राण्ड आई १० नियोस नेपाल ल्याएको छ । यसअघि मग्ना र स्पोर्टज् भेरियन्ट मात्रै विक्री गर्दै आएको कम्पनीले पहिलो पटक नियोसमा ‘इरा’ भेरियन्ट नेपाल ल्याएको हो ।

मग्ना भेरियन्टको आई १० नियोसको मूल्यभन्दा ५ लाख कम मूल्य तोकेर यसको विक्री सुरु हुन लागेको हो । मग्ना भेरियन्टको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने, नयाँ आएको इरा भेरियन्टको मूल्य २८ लाख ५६ हजार तोकिएको छ ।

यसको साथै, लक्ष्मी इन्टरकन्टिनेन्टलले स्पोर्टज् भेरियन्टमा अटोमेटीक भर्सन पनि नेपाल ल्याएको छ । यसअघि मग्ना भेरियन्टमा मात्रै अटोमेटीक गियरबक्स उपलब्ध रहेको थियो । नयाँ स्पोर्टज् अटोमेटीकको मूल्य ३८ लाख ९६ हजार तोकिएको छ ।

ग्राण्ड आई १० नियोस मग्नाको तुलनामा ५ लाख सस्तो भएपछि यसमा फिचर पनि कम हुनु स्वभाविक हो । कम्पनीले यसमा स्टेरिङ कन्ट्रोल कमान्ड र पछाडि पावर विन्डो जस्ता फिचर दिएको छैन । यसको साथै, ग्राण्ड आई १० मग्ना भेरियन्टमा आउने बडी कलर बम्पर र ओआरभीएम पनि यसमा उपलब्ध हुने छैन ।

इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक एसी जस्ता फिचर यसमा नभएपनि अन्य अधिकांश फिचर पाउन सकिन्छ । अगाडि दुई एयरब्याग, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, क्र्यास सेन्सर, इन्जिन इमोविलाइजर, इन्जिन चेक वार्निङ, स्पीड अलर्ट जस्ता सुरक्षा फिचर इरा भेरियन्टमा उपलब्ध हुनेछन् ।

एड्जस्ट गर्न मिल्ने हेडलाइट, रियर स्पोइलर, हेलोजिन हेडल्याम्प, १४ इन्चको स्टील ह्वील, पावर स्टेरिङ, एसी, हिटर, अगाडि पावर विन्डो इरामा उपलब्ध छन् ।

यसमा अन्य भेरियन्टको जस्तै समान इन्जिन उपलब्ध रहेको छ । हुन्डाईको सफल १.२ लिटर कप्पा पेट्रोल इन्जिनले अधिकतम ८२ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध यो ह्याचव्याकले प्रतिलिटर २० किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको भएपनि नेपालका हाइवेमा १५ किलोमिटर माइलेज दिन्छ ।

हुन्डाई ग्राण्ड आई १० नियोसको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम छ भने यसमा २४५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।


Back_to_top