हुन्डाई आई-२० एक्टिभ र फोर्ड फ्रिस्टाइलमा कुन उत्कृष्ट ? यस्तो छ बिक्री तथ्यांक

काठमाडौं । नेपाली बजारमा क्रसओभर कारको माग बढ्दै गइरहेको छ । ह्याचब्याक र कम्प्याक्ट एसययूभीको बीचको कार हो क्रसओभर । नेपाली बजारमा हुन्डाई आई–२० एक्टिभ र फोर्ड फ्रिस्टाईलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । 

तर, २०७५ को साउनदेखि २०७६ को बैशाखसम्मको १० महिनाको अवधिमा हुन्डाई आई–२० एक्टिभ ८ सय ४० यूनिट बिक्री हुँदा फोर्डको फ्रिस्टाइल ३ सय ६६ वटा मात्र बिक्री भएको छ । 

प्रतिस्पर्धा हुने मानिएको यी दुई क्रसओभर कारबीच प्रतिस्पर्धा त्यति धेरै नदेखिएपनि दुबैको बिक्री भने राम्रै संख्यामा देखिएको छ । 

यस्तो छ यी दुई क्रसओभरबीचको मूल्य र विशेषताः 

हुन्डाई आई–२० एक्टिभ

आई २० एक्टिभमा  १.२ लिटर क्षमताको कापा पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ वीएचपी पावर दिन्छ  । यो कारको ड्यासबोर्ड पूर्ण गाडा कालो कलरमा रहेको छ ।  ७.० इन्चको इन्फोटेन्डमेन्ट सिस्टम, आर्कमी साउन्ड सिस्टम र एन्ड्रोयड बेस रिमोटले कारलाई निकै आकर्षक देखाएको छ । भने पहिलो पटक यो सेग्मेन्टको कारमा कम्पनीले अडेप्टिभ इसिएम डिस्प्ले र रियर क्यामेरा जडान गरेको छ । 

सुरक्षाको लागि एबीएस सहित इबीडी सिस्टम दिइएको छ भने मिड रेञ्जमा ड्राइभर साईड र टप रेञ्जमा ड्राइभर र प्यासेन्जर दुबै एयरब्याग दिइएको छ । यस कारको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७६० र व्हीलबेस २५७० एमएम रहेको छ । आई–२० एक्टिभको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । 

यो कारले १७.१९ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसमा १६ इन्चको डायमन्ड कट अलोय ह्वीलको साथ रेडिएल ट्युवलेस टायर दिएको छ । 

यसको नेपाली बजारमा सुरुवाति मूल्य ३४ लाख ९६ हजार रुपैयाँ रहेको  छ । हुन्डाईका कार नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ । 

फोर्ड फ्रिस्टाइल

फोर्डको क्रसओभर फ्रिस्टाइलमा फोर्डको पछिल्लो उत्पादन हो । यो कारको सुरुवाति मूल्य ३० लाख ४९ हजार रुपैयाँ रहेको छ । 

१.२ लिटरको ३ सिलिण्डरयुक्त पेट्रोल इन्जिन रहेको यो कारले ९६ पीएस पावर तथा १२० एनएम टर्क उत्पादन गर्छ । यसले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । 

सेफ्टीको लागि ६ एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन जस्ता विशेषता उपलब्ध रहेको छ । 

यसबाहेक कारमा ६.५ इन्चटचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस ईन्ट्री, अटो हेडल्याम्पस् , रेन–सेन्सिङ वाईपर, १५–ईन्च अलो ह्वील दिइएको छ । 

फोर्डका गाडी नेपाली बजारमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ फोर्डले बिक्री गर्दै आएको छ । 

क्रसओभर कार सहर र सामान्य अफ रोड बाटोमा समेत उपयुक्त हुने भएकाले यस्ता सवारीको माग तथा बिक्री बढ्दै गइरहेको हो । 


Back_to_top