काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नेक्स्ट जेनेरेशन हुन्डाई कोनाको तस्विरसहित प्राविधिक विवरण समेत सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२२ को अन्त्यमा तस्विर मात्रै सार्वजनिक गरेको नयाँ कोनाको डिटेल केही दिनअघि सार्वजनिक गरेको हो ।
बाहिर आएको तस्विरलाई हेर्दा हुन्डाईले नयाँ जेनेरेशन कोनाको अवतार मात्रै परिवर्तन गरेको छैन । यसको साइज, क्याविन, ड्यासबोर्ड, सिट, स्टेरिङ ह्वीलदेखि सम्पूर्ण फिचर समेत परिवर्तन गरेको छ ।
नयाँ कोनामा पहिलेको तुलनामा ६० एमएम लामो ह्वीलवेस, लम्बाई १५० एमएम र चौडाई २५ एमएमले बढाएको छ । समग्रमा यसको लम्बाई ४३५५ एमएम, चौडाई १८२५ एमएम र ह्वीलवेस २६६० एमएम दिइएको छ ।
ग्रिल बिनाको एरोडाइना मिक्स फ्रन्ट, आक्रमक लुक्समा दिइएको एयर इन्टेक, पछाडि भागमा दिइएको लामो एलइडी लाइट बार, हाइ–माउन्ट ब्रेक लाइटले नयाँ कोनालाई पृथक लुक्स प्रदान गरेको छ । इलेक्ट्रीक कोनाको फरकपन झल्काउन १९ इन्चको पिक्सल इन्सपायर्ड अलोय ह्वील दिइएको छ ।

नयाँ जेनेरेशन कोनाको क्याविन पनि आयोनीक ५ बाट प्रेरित रहेको सार्वजनिक भएको तस्विरले देखाउँछ । नयाँ कोनामा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चकै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
यसको ड्यासबोर्डमा स्टोरेज, क्लीन सिट र सेन्टर कन्सोल देख्न सकिन्छ । यसमा १२ भोल्ट १८० वाटको टाइप सी यूएसबी पोर्ट, स्लिमर सेन्ट्रल एसी भेन्ट्स, फिजिकल बटन सहितको क्लाइमेट कन्ट्रोल प्यानल, थ्री स्पोक स्टीयरिङ ह्वील र डिजिटल मिरर पनि रहेको छ ।
नयाँ हुन्डाई कोनामा सुरक्षाको लागि फरवार्ड कोलाजिन एभोइडेन्स असिस्ट, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट कोलाजिन एभोइडेन्स असिस्ट, सेफ एक्जिट वार्निङ, इन्टेलिजेन्ट स्पीड लिमिट असिस्ट, ड्राइभर अटेन्शन वार्निङ, ब्लाइन्ड स्पट भ्यू मोनिटर र हाई बीम असिस्ट लगायतका अत्याधुनिक फिचर दिइएको छ ।
नेभिगेसनमा आधारित स्मार्ट क्रुज कन्ट्रोल, लेन फलोइङ असिस्ट र हाइवे ड्राइभिङ असिस्ट (एचडीए) लगायत फिचर्स समावेश छन् । यसबाहेक, नयाँ कोनामा सराउन्ड भ्यू मनिटर, पार्किङ वार्निङ, रिमोट स्मार्ट पार्किङ असिस्ट पनि पाउन सकिन्छ ।

