काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना इलेक्ट्रीकको नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि लागु हुनेगरी टप भेरियन्टमा ४० हजार मूल्य वृद्धि गरेको हो ।
कम्पनीले कोना जीएलएस भेरियन्टको मूल्य ४० हजार रुपैयाँले वृद्धि गरेर ६४ लाख ९६ हजार रुपैयाँ बनाएको हो । बजेट अगाडि यो भेरियन्टको मूल्य ६४ लाख ५६ हजार मूल्य रहेको थियो ।
कोनाको इन्ट्री भेरियन्ट एनएस भेरियन्टको ६० लाख ९६ हजार र जीएल भेरियन्टको ६१ लाख ९६ हजार रुपैयाँ भएको छ । यी दुबै भेरियन्टमा मूल्य यथावत राखिएको छ ।
सरकारले जेठ १५ गते ल्याएको बजेट मार्फत कर बढाएसँगै विद्युतीय कारको मूल्य कति हुन्छ भन्ने विषयले बजार तात्यो । नेटा भी, एमजी र बीवाइडीले नयाँ मूल्य सार्वजनिक गरे । यी सबै कम्पनीले नयाँ पुरानै मूल्यमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म थपेर मूल्य प्रकाशित गरेका थिए ।
हुन्डाईले पनि आयोनीक ५ को मूल्य घटेसँगै नयाँ मूल्य सार्वजनिक गर्यो । कम्पनीले यसअघि १ करोड १६ लाख ९६ हजार मूल्य तोकेर बिक्री गर्दै आएको आयोनीक ५ को मूल्य १४ लाख रुपैयाँले घटाएर १ करोड २ लाख ९६ हजार बनायो । तर, आफ्नो सर्वाधिक सफल इलेक्ट्रीक मोडल कोनाको मूल्य भने चलाएको थिएन ।
कम्पनीले आफ्ना दुई इलेक्ट्रीक कार कोना र आयोनीक ५ को लागि ९.९९ प्रतिशत ब्याजदरको स्कीम पनि ग्राहकलाई दिएको छ । कम्पनीले दिएको स्कीममा हुन्डाईको इलेक्ट्रीक कार किन्नेले एक वर्षसम्म ९.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । एक वर्षपछि भने बजारमा जस्तो ब्याजदर रहन्छ, त्यही दरमा ब्याज तिर्नु पर्ने हुन्छ ।
यस्तो छ कोना इलेक्ट्रीक
नेपालमा निकै सफल कोना इलेक्ट्रीक एउटा सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो ।
कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।
कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनोको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।


