विश्वका धेरै देशमा हुन्डाई कोना इलेक्ट्रीक ‘रिकल’, कम्पनीहरुले किन गर्छन् यस्तो रिकल

काठमाडौं । हुन्डाई कोना ‘रिकल’ गर्ने हुन्डाई मोटर्स र त्यसको व्याट्री उत्पादक एलजी केमले निर्णय गरेसँगै अमेरिका, क्यानेडा, यूरोप र चीनमा ‘रिकल’ गरिएको छ । कम्पनीले क्यानेडाको एक ग्राहकको ग्यारेजमा ६ महिनाअघि कोनामा आगलागी भएपछि त्यसको थप अनुसन्धान गर्न गाडी रिकल गरेको जनाएको छ ।

त्यसपछि व्याट्री निर्माता कम्पनी एलजी केमले त्यसमा देखिएको समस्या खोजबिन जारी राखेको र त्यसको संभावित अवस्था जान्न रिकल गरेको जनाएको छ ।

कोरिया टाइम्सले हुन्डाई मोटर्सका क्वालिटी कन्ट्रोल प्रेसिडेन्ट साउ बो सिनको भनाई उद्धृत गर्दै लेखेको छ, ‘हामीले व्याट्रीमा रहेको खराबी पत्ता लगाउने विगतदेखि नै प्रयास गरिरहेका छौं, त्यसमा केही थप समस्या आएको छ वा छैन त्यसको जाँच गर्न रिकल गरिएका हौं ।’

अहिले रिकलपछि परिक्षण रिपोर्ट आएसँगै विश्वभर बिक्री भएका कोनाको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा हुन्डाई मोटर्सले आफ्नो प्लान अगाडि ल्याउने जनाएको छ ।

किन गरिन्छ रिकल ?

विश्व अटोमोवाइल बजारमा वार्षिक ४/५ लाख सवारी साधन रिकल हुने गरेका छन् । यसरी गर्ने रिकल भनेको गाडी उत्पादकले गाडी नै फिर्ता लाने होइन । गाडीमा देखिएको समस्या समाधान गर्न आधिकारीक सर्भिस सेन्टरमा बोलाउनुलाई नै रिकल भनिन्छ ।

गाडीमा आएको समस्या पत्ता लगाएसँगै उत्पादक कम्पनीको क्वालिटी कन्ट्रोल विभागले विश्वभर रहेका आफ्ना बिक्रेता मार्फत सर्भिस सेन्टरमा गाडी मगाएर समस्या समाधन गरेर पठाउने गरिन्छ ।

अहिले हुन्डाईले विश्व बजारमा गरिरहेको कोना इभीको रिकल पनि त्यहि प्रकृया हो । गाडीलाई सर्भिस सेन्टरमा मगाएर त्यसमा कस्ता समस्या देखिएका छन् वा छैनन् भन्ने जाँच कम्पनीले गरिरहेको छ ।

नेपालमा पनि हुन्छ गाडी रिकल ?

हुन्छ, नेपालमा पनि गाडी बिक्रेता कम्पनीले गाडी रिकल गरेका थुप्रै घटना रहेका छन् । उत्पादक कम्पनीले गाडीमा देखिएको समस्या पत्ता लगाएपछि बिक्रेतासँगको समन्वयमा गाडी सर्भिस सेन्टरमा मगाएर समस्या समाधान गरि पठाउने गरेका छन् ।

फोर्डले ढेड वर्षअघि इकोस्पोर्टको एउटा लटमा समस्या आउँदा नेपालमा रिकल गरेको थियो । सफ्टवेयरमा आएको समस्या समाधान गर्न कम्पनीले ग्राहकलाई नै फोन गरेर गाडी सर्भिस सेन्टरमा बोलाएर सफ्टवेयर अपग्रेड गरेर पठाएको थियो । त्यति बेला १८ यूनिट इकोस्पोर्ट जियो फोर्डले रिकल गरेको थियो ।


Back_to_top