कम मूल्यको क्रसओभर कार ल्याउँदै मारुती सुजुकी

काठमाडौं । मारुती सुजुकीले अर्को नयाँ सब फोर मिटर एसयूभी उत्पादन गर्ने भएको छ । कम्पनीले सव फोर मिटर एसयूभी सेग्मेन्टमा आफुलाई अझै बलियो बनाउन लागेको हो ।

कम्पनीले २०२२ को अन्त्यसम्ममा नयाँ क्रस ओभर कम्प्याक्ट गाडी बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने यो कम्प्याक्ट क्रसओभरले निसानले ल्याउन लागेको म्याग्नाइट, रेनो किगर लगायतका मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

यो मूल्यका हिसावले मारुती सुजुकीको सबैभन्दा कम मूल्यको क्रसओभर कार हुने छ । यसको भारतमा ५ लाख भारु मूल्य रहने सक्ने अहिले अनुमान गरिएको छ ।

मारुती सुजुकीले आफ्नो नयाँ योजना सार्वजनिक गर्दै सन् २०२३ सम्ममा ५ नयाँ एसयूभी बजारमा ल्याउने घोषणा गरेको छ । हरेक ६ महिनामा नयाँ यूटिलिटी भेहिकल बजारमा उतार्ने जनाएको हो ।

कम्पनीको योजना अनुसार पहिलो गाडी टोयोटा इनोभाको प्ल्याटफर्ममा टोयोटासँगको सहकार्य अनुसार एमपीभी आउने अनुमान गरिएको छ । ७ सिट क्षमतामा आउने एमपीभीले महिन्द्रा मराजो, टोयोटा इनोभासँग नै प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले नयाँ जेनेरेशन भिटारा ब्रेजा र टोयोटा राइजमा आधारित नयाँ मिडसाइज एसयूभी सन् २०२२ मा बजारमा ल्याउने योजना बनाएको रिपोर्ट बाहिर आएको छ । उक्त मिडसाइज एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस जस्ता उत्पादनसँग प्रतिस्पर्धा गर्ने छ ।

मारुती सुजुकीले ५ ढोकासहित भारतमा उत्पादन गर्ने घोषणा गरेको जिम्नी सन् २०२३ मा मात्रै बजारमा आउने अनुमान गरिएको छ ।


Back_to_top