हुन्डाईले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी भेन्यूको भारतीय बजारमा मिडिया रिलिज गरेको छ । साथै कम्पनीले भारतमा यसको बुकिङ्गसमेत खुल्ला गरेको छ । हुन्डाईले न्यूर्योक अटो शोमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेसँगै भारतमा समेत भेन्यू डिस्प्ले गरेको छ ।
कम्पनीले अरब सागरको बीचमा क्रुजमा यसलाई शोकेस गरेको थियो । बिभिन्न नयाँ फिचरका साथ आएको भेन्यूमा हुन्डाईको चर्चित सिग्नेचर ग्रिल दिइएको छ ।
हुन्डाई ब्ल्यू लिङ्क प्रविधि जडान भएको यो सेग्मेन्टमै पहिलो गाडी हो । यसलाई सार्वजनिक गर्दै कम्पनीका एमडी तथा सीइओ एस एस किमले भने ‘भेन्यूलाई बजारमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । हुन्डाई भारतीय बजारमा सधै विश्व स्तरिय डिजाइनका गाडी ल्याउन प्रतिबद्ध रहेको छ । मलाई विश्वास छ भेन्यूले ग्राहकको मन जित्ने छ ।’
हुन्डाई भेन्यूको लम्बाई ३९९५ एमएम, चौडाई १७७०, उचाई १५९० र ह्वीलवेस २५०० एमएम रहेको छ । यसलाई फिचर प्याक कम्प्याक्ट एसयूभी बनाउन कम्पनीले इलेक्ट्रीक सनरुफ, वायरलेस मोवाइल चार्जर, एयर प्यूरिफायर, क्रुज कन्ट्रोल जस्ता बिशेषता दिएको छ ।
६९ प्रतिशत एड्भान्स हाई स्ट्रेन्थ स्टीलको प्रयोग गरेर यसको बडी निर्माण गरिएको कम्पनीले जनाएको छ ।
तीन इन्जिन अप्सनमा बजारमा ल्याउने तयारी भएको भेन्यूमा १.० लिटर कपा टर्बो टी जिडीआई पेट्रोल, १.२ लिटर कपा पेट्रोल र १.४ लिटर डिजेल इन्जिन दिइएको छ । भेन्यूमा ६ स्पीड र ५ स्पीड म्यानुयल ट्रान्समिसन दिइएको छ भने, ७ स्पीड डियुल क्लच ट्रान्समिसन टेक्नोलोजि दिइएको छ ।
यसमा दिइएको १.० लिटर इन्जिनले १२० पीएस पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ७ स्पीड डिसीटी गियरबक्स दिइएको छ । त्यस्तै, १.२ लिटर इन्जिनले ८३ पीएस पावर र ११५ एनएम टर्क उत्पादन गर्छ । यसमा दिइएको १.४ लिटर डिजेल इन्जिनले ९० पीएस र २२० एनएम टर्क प्रदान गर्छ ।

