काठमाडौं । महिन्द्राले केही समयअघि नेपाली बजारमा नयाँ एसयूभी एक्सयूभी ३०० सार्वजनिक गरेको थियो । महिन्द्राले भारतीय बजारमा आएकोक केही समयपछि काठमाडौंको भृकुटीमन्डपमा आयोजना गरेको एकल अटो प्रदर्शनीमा उक्त नयाँ गाडी सोकस गरेको हो । तर, यसको व्यवसायीक बिक्री वितरण भने नेपालमा सुरु भएको छैन ।
त्यस्तै हुन्डाई कम्पनीले पनि केही समय अगाडि मात्रै नयाँ कम्प्याक्ट एसयूभी भेन्यू भारतीय बजारमा सार्वजनिक गरेको हो । हुन्डाईले आगामी अगस्टको अन्तिमसम्ममा नेपाली बजारमा भेन्यू सार्वजनिक गर्ने तयारी गरेको छ ।
यी दुबै कम्पनीले आफ्नो सब फोर मिटर एसयूभीलाई नाडा अटो शो २०१९ मा प्रमुखताका साथ बिक्री वितरण गर्ने लक्ष्य बनाएका छन् ।
भारतीय अटो बजारमा, हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी ३०० बीच प्रतिस्पर्धा भएकाले नेपाली बजारमा पनि यी दुई मोडल बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
हामीले यहाँ डिजाइन, स्वरुप, पावर उत्पादन क्षमता, मूल्यलगायत विविध विषयमा यी दुई मोडलबीचको भिन्नता तथा समानता केलाउने प्रयास गरेका छौं ।
इन्जिन
महिन्द्राको एक्सयूभी ३०० मा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड एमटी ट्रान्समिसन दिइएको छ ।
नयाँ भेन्यू १.० लिटर पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल गरी ३ इन्जिन अप्सन उपलब्ध रहेको छ । यसमा प्रयोग भएको १.० लिटर कप्पा टी– जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ डीसीटी र म्यानुअल ट्रान्समिसन समावेश गरिएको छ । सो एसयूभीको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ र यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन उपलब्ध रहेको छ । साथै, १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ र यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।
डायमेन्सन
महिन्द्रा क्सयूभी ३०० को लम्बाई ३ हजार ९ सय ९५ एमएम, चौडाई १ हजार ८ सय २१ एमएम, उचाई १ हजार ६ सय १७ एमएम रहेको छ । यसमा २६ सय एमएमको ह्वीलवेश दिइएको छ भने, २६५ लिटर बुट स्पेश रहेको छ ।
हुन्डाई भेन्यूको लम्बाई ३९९५ एमएम, चौडाई १७७० एमएम र उचाई १५९० एमएम रहेको छ । र यसको ह्विलवेश २५०० एमएम रहेको छ । नयाँ भेन्यूको क्याविन निकै ठूलो छ । यसको सिट स्पोर्टी हुनुको साथसाथै कम्फर्ट पनि रहेको छ ।
विशेषता
महिन्द्रा एक्सयूभी ३०० मा किलेस–इन्ट्री, पुश–वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, टु–ट्वीटर, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर–र्याप स्टेयरिङ ह्वील र गियर–नोभ, ईएसपी हिल–होल्ड, इन्जिन स्टार्ट–स्टप, डबल–जोन एसी, क्रुज कन्ट्रोल, रिभर्स पार्किङ क्यामरा गाइडलाइन, सिक्स–वे एड्जस्टेबल ड्राइभर–सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता उपलब्ध छ ।
यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बिएन्ट इन्टेरियर लाइटिङ, वान–टचअप डाउन ड्राइभर साइड–विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिस–फ्रन्ट एन्ड रियर–स्किड प्लेट दिइएको छ ।
हुन्डाई भेन्यूमा इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु पाइन्छ । साथै यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग पनि गरिएको छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्छ ।
नयाँ भेन्यू भारतको पहिलो स्मार्ट कनेक्टेड गाडी हो जसमा कम्पनीको ब्लूलिंक टेक्नोलोजी समावेश गरेको छ । यसमा ३३ स्मार्ट कनेक्टेड फिचर उपलब्ध रहेको छ । यति मात्र होइन सो कनेक्टिभिटी टेक्नोलोजीमा एआई आधारित भ्वाइस कमान्ड, लोकेसन ट्रयाक सर्भिस, इन्जिन, सेफ्टी र अन्य विशेषता पनि रहेको छ ।
सो एसयूभीको फ्रन्टमा हुन्डाई सिग्नेर ग्रिलको प्रयोग गरिएको छ, जसको कारण यो निकै आकर्षक देखिन्छ । सो एसयूभीको रियर लुक्स निकै आकर्षक देखिन्छ साथै यसमा नयाँ डिजाइनको टेल ल्याम्प्सको प्रयोग गरिएको छ ।
मूल्य
महिन्द्राले कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० लाई चार भेरियन्ट डब्लू–४, डब्लू–६, डब्लूू–८ र डब्लूू–८ अप्सनमा सार्वजनिक गरेको छ । भारतीय बजारमा यसकोे भने लो भेरियन्टको मूल्य ८ लाख ४९ हजार र हाइभेरियन्टको मूल्य ११ लाख ९९ हजार भारु रहेको छ । यस्तै हुन्डाई भेन्यूको मूल्य ७ देखि ११ लाख भारुकोबीचमा तोकिएको छ ।
नेपाली बजारमा महिन्द्रा एक्सयूभी ३०० को सुरुवाति मूल्य ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ भने हुन्डाई भेन्यूको सुरुवाति मूल्य ३५ लाख रुपैयाँ पर्ने अनुमान लगाउन सकिन्छ ।

