केबल तीन भेरियन्टमा आयो नयाँ जेनेरेशन हुन्डाई भेन्यू (मूल्यसहित)

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतीय बजारमा आफ्नो सफल सब फोर मिटर एसयूभी भेन्यू सार्वजनिक गरेको छ । उत्पादनको ६ वर्षपछि नयाँ जेनेरेशनमा आएको भेन्यूलाई तीन भेरियन्टमा सार्वजनिक गरेको हो ।

हुन्डाईले भेन्यूको भेरियन्टहरु प्रयोग गर्दै आएको नाम पनि परिवर्तन गरेको छ । अब भेन्यू एचएक्स टु, एचएक्स फोर र एचएक्स फाइभ भेरियन्ट नेममा उपलब्ध हुने छ । यसको इन्ट्री भेरियन्ट एचएक्स टुको मूल्य भारतमा एक्स शोरुम ७ लाख ९० हजार भारतीय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी एचएक्स फोर भेरियन्टको मूल्य ८ लाख ८० हजार र एचएक्स फाइभको मूल्य ९ लाख १५ हजार भारतीय रुपैयाँ कायम गरिएको हो ।

हुन्डाईले भेन्यू एसयूभीलाई पहिलेको भन्दा अग्लो, फराकिलो र बक्सी डिजाइनमा तयार पारेको छ । बाहिरी डिजाइन र भित्री क्याविन फिचरमा पूर्ण परिमार्जन गरेर ल्याइएको नयाँ जेनेरेशन भेन्यूमा सुरक्षा फिचर पनि ठूलो संख्यामा थपिएको छ ।

कम्पनीका अनुसार एडास लेभल टु उपलब्ध भेन्यूमा ३६० डिग्री क्यामरा, ड्राइभ मोड, ट्रयाक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर, रिक्लाइनिङ रियर सिट, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड जस्ता फिचर दिएको छ । जसले पेट्रोल वा डिजेल भेन्यू चलाउनेले पनि इलेक्ट्रीक ड्राइभको सहजता पाउन सक्नेछन् ।

हुन्डाईले यसमा बेसको ८ स्पीकर दिएको छ । जसले म्युजिकप्रेमीहरुलाई खुसी बनाउन सक्नेछ । ड्यासबोर्डमा १२.३ इन्चका दुई ठूला स्कृन उपलब्ध छ । पहिलेको भन्दा धेरै फिजिकल बटनहरुको प्रयोग गरिएको छ । थ्री स्पोक स्टेरिङ ह्वील, नयाँ डिजाइनको सेन्टर कन्सोल, एम्बियन्ट लाइट जस्ता फिचरले जुनसुकै प्रतिस्पर्धी माथि भारी पर्नेगरी नयाँ जेनेरेशन भेन्यू बजारमा आएको हो ।

कम्पनीले यसको ह्वील साइज १६ इन्चकै निरन्तरता दिएको छ । तर, ह्वील डिजाइन भने विल्कुलै नयाँ पाउन सकिन्छ । फ्रन्ट लुक्स पनि पुरै परिवर्तन भएको छ । पछाडिको डिजाइन पनि परिवर्तन भएको छ । एलइडी लाइटहरुको ब्यापक प्रयोग उत्कृष्ट छ ।

इन्जिनमा पनि कुनै परिवर्तन छैन । १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध भेन्यूको पेट्रोल अप्सनमा ५ स्पीड म्यानुअल र टर्बोमा ७ स्पीड ड्यूलक्लच गियरबक्स दिइएको छ । डिजेल इन्जिनसँग भने ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।


Back_to_top