माज्दाले बनायो ‘कार्बन क्याप्चर’ गर्ने इन्जिन

काठमाडौं । विश्व अटोमोवाइल क्षेत्रमा नयाँ नयाँ इनोभेसन गर्ने जापनीज कम्पनीले नयाँ आइसीइ इन्जिनको विकास गरेको छ । माज्दाले जापानको टोकियोमा चलिरहेको जापान माबिलिटी एक्स्पोमा नयाँ प्रविधिको आइसीइ इन्जिन देखाएको हो ।

माज्दाले देखाएको नयाँ भिजन एक्स कुपे कन्सेप्टमा कार्बन क्याप्चर इन्जिन दिएर ल्याएको छ । उक्त इन्जिनको विषयमा अहिले विश्व अटोमोबाइल बजारमा ठूलो चर्चा चलिरहेको छ ।

माज्दाको यो नयाँ प्रविधि मोवाइल कार्बन क्याप्चर सिस्टमको प्रयोगपछि ९० प्रतिशत प्रदुषण कम हुनेछ । यसले विश्वभर चलिरहेको प्रदुषणको मुद्दालाई सम्बोधन गर्ने माज्दाको दावी छ ।

कम्पनीले तयार पारेको प्रविधिले गाडीको एक्जस्ट पाइपबाट निस्कने ग्यास २० प्रतिशत क्याप्चर गर्ने छ । यसरी क्याप्चर भएको कार्बनलाई सानो ट्याङ्कमा जम्मा गर्ने र त्यसको प्रयोग प्लास्टीक रिसाइकलको लागि कच्चा पदार्थको रुपमा गर्न सकिने माज्दाले जनाएको छ ।

माथिका सकारात्मक कुरा धेरै देखिएपनि यसमा एउटा जटिलता छ । यसमा हालिने इन्धन पेट्रोल वा डिजेल नभएर बायोफ्यूल हो । कम्पनीको दावी मान्ने हो भने बायोफ्यूल प्लान्टमा नै उत्पादन हुने र मूल्य पनि परम्परागत तेलहरुभन्दा सस्तो हुनेछ ।

यसरी उत्पादन गरिने बायोफ्यूल नै परम्परागत इन्धनभन्दा ९० प्रतिशत कम प्रदुषण युक्त हुनेछन् । यसको ब्यापक प्रयोग गर्न सकिए यसै पनि प्रदुषण कम हुन्छ, त्यसमा पनि मोबाइल कार्बन क्याप्चर सिस्टमको सहयोग भएपछि प्रदुषण नगन्य हुने माज्दाका चीफ टेक्नोलोजी अफिसर रियोउची उमिसीताले बताए ।

विद्युतीय गाडीको बढ्दो चर्चा र हल्लाको बीचमा जापानी कार उत्पादकले ल्याएको मोबाइल कार्बन क्याप्चर सिस्टम अर्को विकल्पको रुपमा स्थापित हुन सक्नेछ । तर, अहिलेलाई मुख्य समस्या भनेको बायो फ्यूल उत्पादन गर्नु हो । अहिलेकै प्रविधिमा १ लिटर बायो फ्यूल रिफाइन गर्न २ हप्ता लाग्ने बताइएको छ ।

 


Back_to_top