अर्थमन्त्री ज्यू ! धुवाँमा पैसा उडाउने कि विद्युतको प्रयोग बढाउने

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि शुरू भएसँगै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेको छ । अझ नेपाल जस्तो पूर्णतः आयातीत पेट्रोलियम पदार्थको भरमा चल्नु पर्ने देशको लागि मूल्य वृद्धि विकासको बाधक बन्ने गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्र बजार मूल्यमा वृद्धिको चाप पर्छ । ढुवानीको साधनमा बढेको खर्चले बजारमा रहेक सामनको मूल्य वृद्धि हुन जान्छ । अहिले वार्षिक १ खर्ब ७० अर्ब हारहारीको पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालले वृद्धि भएसँगै थप रकम खर्च गर्नु पर्ने अवस्था आउन लागेको छ । त्यसैले अर्थमन्त्री ज्यू ! धुवाँमा पैसा उडाउने कि विद्युतको प्रयोग बढाउने भन्ने विषयको निक्र्योल यहाँले नै गर्नु पर्नेछ ।

एकातिर ऊर्जा उपभोग बढाउने चिन्ता छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै व्यापार घाटा र मूल्य वृद्धिमा चाप पर्ने अवस्था आएको छ । यसबाट जोगिन नयाँ योजना अगाडि ल्याउनु पर्ने छ । यस्तोमा सरकारले विद्युतीय कारमा लाग्दै आएको भन्सार १० प्रतिशतमा झार्नु पर्छ भने अन्तःशुल्क पूर्णरुपमा हटाउनु पर्छ ।

अहिले सरकारले ग्यासमा अनुदान दिइरहेको छ भने, केही वर्ष अघिसम्म पनि पेट्रोल, डिजेल र मट्टीतेलमा पनि अनुदान दिइरहेको थियो । धुवाँमा अनुदान दिन नसकिने भन्दै सरकारले पेट्रोलियम पदार्थमा दिइने अनुदान खारेज गरेसँगै नेपाल आयाल निगमले स्वचालित मूल्य निर्धारण अगाडि बढाएको थियो । तर, अघिल्लो १५ दिनमा दुई पटक मूल्य बढाएको निगमले पुनः हिजो सोमबार राती १२ बजेपछि लागू हुनेगरी मूल्य बढाएको छ ।

सरकारले मूल्य बढाएसँगै विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध शुरू गरेका छन् । उनीहरूको माग मूल्य वृद्धि फिर्ता लिनु पर्ने भन्ने छ । तर, यसरी सधैं एउटै विषयमा आन्दोलन हुँदै जाँदा त्यसको नकारात्मक असर हाम्रो दैनिकीमा नै पर्छ । यसलाई कम गर्न पेट्रोलियम पदार्थको आयात कसरी कम गर्ने भन्ने विषयमा सरकारी तवरबाट प्रस्ट प्लान बनाउन जरुरी हुन्छ । त्यसको उपभोग नै घटेपछि आन्दोल हुने कुरै रहँदैन ।

विकल्पमा इलेक्ट्रीक सवारी साधन र इन्डक्सन चुल्हो

अहिले नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको ठूलो हिस्सा डिजेल, पेट्रोल र खाना पकाउने एलपीजी ग्यासको रहेको छ । यसको आयात आजको आजै घटाउन सकिने विषय होइन । यसलाई कम्तीमा १० वर्षको योजना तयार पारेर काम गर्ने हो भने मात्रै परिणाम आउनेगरी काम गर्न सकिन्छ ।

यसको लागि हरेक परिवारमा खाना इन्डक्सन चुल्होमा पाक्नु पर्छ भने सवारी साधन किन्न चाहनेलाई विद्युतीय चारपाङ्ग्रे वा दुई पाङ्ग्रे सवारी साधन किन्न प्रेरित गर्नु पर्छ । विश्वका धेरै देशले विद्युतीय गाडी किन्नेलाई नगद अनुदान दिएका छन् । तर, नेपालमा विद्युतीय कार किने भनेर १०० प्रतिशतभन्दा बढीसम्म कर यही चालू आर्थिक वर्षमा थपियो । यदि विद्युतीय गाडीको प्रयोग बढाउने हो भने अहिले व्यवस्था रहेको करका दर घटाउनु पर्ने हुन्छ । तर, सरकारले उल्टो बाटो हिडेर विद्युतीय सवारी साधनको आयात नै रोकिने अवस्था सृजना गरेको छ ।

स्थिर नीतिको अभावमा निजी क्षेत्रले विद्युतीय सवारी साधनको लागि आवश्यक पर्ने चार्जिङ स्टेशन लगायतका पूर्वाधारमा लगानी गर्ने आँट गर्न सकेको छैन । त्यसैले कम्तीमा सरोकारवालाहरूको आत्मवल वृद्धिको लागि पनि सरकारले परिवर्तन नहुनेगरी १० वर्षे योजना तयार हुनुपर्छ ।

एकातिर ऊर्जा उपभोग बढाउने चिन्ता छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै व्यापार घाटा र मूल्य वृद्धिमा चाप पर्ने अवस्था आएको छ । यसबाट जोगिन नयाँ योजना अगाडि ल्याउनु पर्ने छ । यस्तोमा सरकारले विद्युतीय कारमा लाग्दै आएको भन्सार १० प्रतिशतमा झार्नु पर्छ भने अन्तःशुल्क पूर्णरुपमा हटाउनु पर्छ ।

पेट्रोलियम आयात घट्ने, वातावरणमा धेरै सुधार हुने

हिमालै हिमालको देशले चिनिने नेपाल जलवायू परिवर्तको उच्च जोखिममा रहेको देश हो । नेपालका हिमालमा हिउँ देखिन छाडेको छ भने तापक्रम बढ्दो क्रममा रहेको छ । यसको सिधा असर हिमताल फुट्ने, बाढी, पहिरो, पानी नपर्ने, अनेकन रोगहरू सृजना हुने, मानव स्वास्थ्यमा ठूलो असर हुने जस्तो देखिन शुरू भएको छ । तर, यतातर्फ हाम्रा राजनीतिक दल र सरकारको ध्यान केन्द्रित हुन सकिरहेको छैन ।

विद्युतीय सवारी साधन र इन्डक्सन चुल्होको प्रयोगले पेट्रोलियम पदार्थ जलेर निस्कने धुवाँबाट मुक्ति दिने छ भने, त्यसले वातावरणमा पुर्याउने असरसमेत कम हुने छ । अहिले सवारी साधनले गर्दै आएको ध्वनी प्रदूषण समेत रोकिने छ । विभिन्न रिपोर्ट अनुसार काठमाडौं उपत्यकाको वायू प्रदुषणमा ८० प्रतिशत कारण सवारी साधनलाई मानिएको छ । त्यसैले प्रदूषण कम गर्दै वातावरण सुधार गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढवा दिनु पर्ने छ ।

आफ्नै क्लीन इनर्जीको प्रयोग

नेपाल जलस्रोतको धनी देश भएरपनि ऊर्जा उत्पादनमा पछि पर्दै आएको थियो । तर, अहिले नेपालमा निर्माणाधिन हाइड्रो पावर र सोलार प्लान्टको उत्पादन केन्द्रिय प्रशारण लाइनमा जोडिएसँगै मागको तुलनामा उत्पादन बढी हुने अवस्था रहेको छ ।

भारतबाट पेट्रोलियम पदार्थको आयात कम गर्न सकिने र आफ्नै देशमा उत्पादन हुने ऊर्जाको प्रयोगबाट भान्सा, कलकारखाना, सवारी साधन संचालन गर्न सकिने अवस्था नजिक आएको अवस्थामा आफ्नो ऊर्जाको स्रोत खेर फालेर पेट्रोलियम पदार्थ आयात गर्नुको साटो ऊर्जा खपत गर्ने साधनमा कर छुट दिएर त्यसको प्रयोगलाई बढवा दिनु बुद्धिमानी हुन्छ ।


Back_to_top