चम्कियो दुइपाँग्रे बजार, ११ महिनामै भित्रिए साढे २ लाख युनिट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजार गुलजार बनेको छ । कोभिडपछि सुस्ताएको दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर)को बिक्री चालु आवमा उल्लेख्य रूपमा बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (साउन-जेठ)को तथ्यांक अनुसार दुईपाँग्रे सवारी आयात ३४.१९ प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आवको ११ महिनामा २ लाख ५० हजार १८१ युनिट मोटरसाइकल र स्कुटर (मोपेड बाहेक) आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो ।

चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाँग्रे सवारी आयात ६३ हजार ७५५ युनिट धेरै हो । गत वर्ष ११ महिनामा १ लाख ८६ हजार ४२६ युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो ।

विभागका अनुसार चालु आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८२.४४ प्रतिशत अनएसेम्बल रहेका छन् । ११ महिनामा २ लाख ६ हजार ३४७ युनिट अनएसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।

हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।

११ महिनामा ४३ हजार ९३४ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।

चालु आवमा आयात भएका दुईपाँग्रे सवारी मध्ये २ लाख २७ हजार ९४१ युनिट पेट्रोल र २२ हजार २४० युनिट विद्युतीय रहेका छन् ।

चालु आवमा कुल ३२ अर्ब २० करोड रुपैयाँ बराबरको मोटरसाइकल र स्कुटर आयात भएको हो । जसबाट सरकारले २९ अर्ब ७३ करोड रुपैयाँ राजस्व पाएको छ ।


Back_to_top