काठमाडौं । अप्रिल १ तारिखबाट अधिकांश कार निर्माताले मूल्य बढाउने भएका छन् । भारतमा कार उत्पादन गर्ने मारुती सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, किया, रेनो, होण्डा लगायतका कम्पनीले अप्रिल १ तारिखबाट मूल्य बढाउने भएका हुन् ।
अहिले नेपाली बजारमा पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री उत्साहजनक नरहेपनि यी सबै ब्राण्डका कारहरु बजारमा उपलब्ध छन् । मारुती सुजुकीले ४ प्रतिशतले कारको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले सेलेरियो, ब्रेजा, अल्टो के–१० लगायतका मोडलको मूल्य बढाउने भएको हो ।
महिन्द्राले आफ्ना एसयूभीको मूल्य ३ प्रतिशतले वृद्धि गर्ने भएको छ । कम्पनीले थार, स्कर्पियो एन, बलेरो, एक्सयूभी ७०० लगायतका मोडलको मूल्य वृद्धि गर्ने जनाएको छ ।
टाटा मोटर्सले आफ्ना सबै कारको मूल्य बढ्ने जनाएको छ । तर, कति वृद्धि हुन्छ भन्ने विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन ।
हुन्डाईले आफ्नो क्रेटा, भर्ना, भेन्यू र टुसान मोडलको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले यी सबै मोडलको मूल्य ३ प्रतिशतले वृद्धि हुने जनाएको छ ।
कियाले पनि आफ्नो सेल्टोस, सोनेट, कारेन्स जस्ता मोडलमा ३ प्रतिशतले मूल्य वृद्धि गर्ने भएको छ । रेनोले पनि २ प्रतिशतले आफ्ना कारको मूल्य बढाउने भएको हो । रेनोले भारतमा उत्पादन गर्ने ट्राइबर, काइगर, क्वीडको मूल्य बढाउने भएको हो ।
होन्डाले पनि आफ्नो अमेज, सिटी, एलिभेट जस्ता मोडलको मूल्य वृद्धि गर्ने भएको हो । भारतमा मूल्यवृद्धिको असर नेपाली बजारमा तत्कालै नपरेपनि केही महिनापछि भने पर्ने सहजै अनुमान लगाउन सकिन्छ ।

