प्रोटोन इमास-७ टेष्ट ड्राइभ : बन्न सक्छ प्रतिस्पर्धीको लागि टाउको दुखाइ

काठमाडौं । आज साँझ एक विशेष कार्यक्रम आयोजना गरेर प्रोटोनको पहिलो इलेक्ट्रीक मोडल इमास-७ नेपालमा बिक्री सुरू हुँदैछ । चीनमा जिली ग्रुपको ग्यालेक्सी ब्राण्डमा उत्पादन भएको ग्यालेक्सी ई-५ क्रसओभर एसयूभीलाई प्रोटोनको ब्याचमा राइट ह्याण्ड ड्राइभ मार्केटमा ल्याएको हो ।

प्रोटोन इमास-७ भन्दा यसलाई ग्यालेक्सी ई-५ नामबाटै धेरैले चिन्छन् । नेपालमा जगदम्बा मोटर्सले प्रोटोनको आधिकारिक बिक्रेता भएर विगतदेखि नै काम गर्दै आएको छ । अहिले इमास-७ पनि जगदम्बा मोटर्सले नै नेपाल ल्याएको हो ।

उसोत बजारमा ३० हाराहारी ब्राण्डका विद्युतीय कार उपलब्ध छन् । त्यसमध्येको एक ब्राण्ड अब प्रोटोन पनि भएको छ । प्रोटोन इमास-७ नेपाली सडकका लागि कति प्राक्टिकल छ भन्ने विषय थाहा पाउन हामीले टेष्ट ड्राइभ गरेका थियौं ।

अहिले बजारमा रहेका ५० लाखदेखि ७० लाख मूल्यका धेरै क्रसओभर मोडल माथि इमास-७ भारी पर्नेछ । बीवाइडी एटो-३ र ओमोडा ई-५ सँग त यसको सिधा प्रतिस्पर्धा हुन्छ नै । केही दीपल एस-७ खोज्नेलाई पनि यसले आफूतिर तान्न सक्छ ।

टेष्ट ड्राइभ अनुभव

हामीले यसलाई काठमाडौं वरपरका डाँडाकाँडामा चलाएर हेरेका थियौं । काठमाडौंको साँखु-लब्सीफेदी हुँदै जरसिंहपौवासम्मको उकालोबाटोमा हामीले यसलाई चलाएका थियौं । जरसिंहपौवाको माथिल्लो भेगमा पर्ने कच्ची बाटोमा पनि यसको एक्सपेरियन्स गर्न सकियो ।

जिलीको ब्लेड ब्याट्रीले दिने रेन्ज औषत प्रतिस्पर्धीकोभन्दा राम्रो देखियो । साइजमा पनि अन्य प्रतिस्पर्धीभन्दा ठूलो इमास-७ लग्जरीको मामलामा पनि उत्कृष्ट छ । मिनिमल डिजाइन फिलोसोपीमा तयार भएको क्याबिन र प्रशस्त स्टोरेज एरियाको कारण चालक र यात्रुलाई निकै सहज लाग्छ ।

बाहिरी बनोटको कुरा गर्नु पर्दा प्रिमियम एजुकेटिभ क्रसओभरको झल्को एक नजरमै तपाईंले पाउनु हुन्छ । १८ र १९ इन्चको भेरियन्ट अनुसारको ह्वील, स्लीक ह्वील आर्क र बडी क्लाइडिङ यसमा छ ।

प्राक्टिकल फिचरका हिसाबले निकै उत्कृष्ट इमास-७ मा दिइएको १६० किलोवाटको मोटर र ३२० न्युटन मिटर टर्कले ड्राइभिङमा थ्रिल प्रदान गराउन सक्षम छ ।

गाडीमा भएको ब्याट्री लगायतका फिचर

नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध प्रोटोन इमास-७ मा ब्याट्री पनि दुई अप्सनमा उपलब्ध छ । यसमा ४९.५ र ६०.२ किलोवाट आवरको एजिस सर्ट ब्लेड ब्याट्री छ ।

रेन्ज डब्लूएलटीपीका अनुसार ४१० र ३४५ किलोमिटर, गाडीको स्पीड ७ सेकेण्डभन्दा कम समयमा ०-१०० हुन्छ । प्राइमले ८० किलोवाट र प्रिमियमले १०० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । दुवै भेरियन्टले ११ किलोवाटसम्मको एसी चार्ज सपोर्ट गर्छ ।

यसको सीडी ०.२७५ ड्रयाग कोफिसियन्ट रहेको कारको ट्रनिङ रेडियस केबल ५.४ मिटर छ । जुन सेग्मेन्टमै उत्कृष्ट मध्येको एक हो । साइजको हिसाबले पनि इमास-७ उत्कृष्ट छ । यसको लम्बाइ ४६१५ एमएम र चौडाइ १९०१ एमएम छ । जसको कारण फराकिलो क्याबिन पाउन सकिन्छ ।

उचाइ पनि निकै राम्रो छ । १६७० एमएम अग्लो गाडीमा १७३ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । ४६१ लिटरको बुट स्पेश निकै ठूलो लाग्छ । ह्वीलबेस २७५० एमएम लामो छ ।

मल्टी फङ्गसनल एन्टी ब्याक्टेरियल स्टेरिङ ह्वील, लेदर सिट, इलेक्ट्रीक एड्जस्टेबल सिट, एड्जस्टेब स्टेरिङ, २५६ कलरको एम्बियन्ट लाइट, भ्यान्टिलेटेड सिट, पावर टेलगेट, पानारोमिक सनरुफ पाउन सकिन्छ ।

१०.२ इन्चको इन्फर्मेशन डिस्प्ले र १५.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम तथा हेडअप डिस्प्ले पाउन सकिन्छ । एन ९५ फिल्टर सहितको एसी, १६ स्पीकरले युवाहरूलाई लोभ्याउने छ ।

सुरक्षाका लागि एयरब्याग, एबीएस लगायतका फिचर त छन् नै एडास भित्र पनि उत्कृष्ट फिचर पाउन सक्नुहुन्छ । अटोनोमस इमर्जेन्सी ब्रेकिङ, रियर क्रस ट्राफिक अर्लट, एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् । यसको ३६० डिग्री क्यामेराको क्वालिटी पनि उत्कृष्ट छ ।


Back_to_top