काठमाडौं । विद्युतीय कार बजारमा उलटफेर देखिन थालेको छ । कुनै पनि प्रोडक्टको लामो आयु नदेखिँदा सन् २०२५ लागेसँगै धेरै आयात भएका कारको सूचीमा फेरबदल देखिएको हो ।
अहिले बजारमा दुई दर्जन बढी चिनियाँ कारको बिक्री हुँदै आए पनि २०२५ को सुरूवाती साढे दुई महिना (जनवरी १ देखि मार्च १५ सम्म)को आयातमा टाटा मोटर्स निकै अगाडि देखिन्छ ।
उसोत मार्च महिनामै झण्डै आधादर्जन मोडल बजारमा आउँदैछन् । मार्च १५ तारिखसम्मको आयातमा टाटा टिगोर, टियागो र पन्च ईभी धेरै आयात भएका ५ मोडल भित्र अटाएका छन् ।
साढे दुई महिनाको अवधिमा सिप्रदी ट्रेडिङले सबैभन्दा धेरै टाटा टिगोर ईभी ल्याएको छ । ट्याक्सीको रूपमा बिक्री हुँदै आएको टिगोर यस अवधिमा २२८ युनिट आयात भएको देखिन्छ ।
धेरै आयात भएको अर्को विद्युतीय कार मोडल डोङफेङ नामी हो । एमएडब्लू वृद्धिले साढे दुई महिनामा २०८ युनिट नामी कार ल्याएको देखिन्छ । ६ महिना अगाडि बजारमा आएको नामी कार अहिलेसम्म भने ५६२ युनिट आइसकेको छ ।
तेस्रो धेरै आयात बीवाइडी एटो-३ भएको छ । साइमेक्स इंकले सन् २०२५ को मार्च १५ तारिखसम्ममा १७१ युनिट एटो-३ आयात गरेको हो ।
चौथो र पाँचौं धेरै आयात भएका मोडल पनि टाटाकै छन् । टाटाले पन्च माइक्रो एसयूभी १३५ युनिट आयात भएको छ । टियागो ह्याचब्याक पनि १०३ युनिट आयात भएको छ ।
यी बाहेक कुनै पनि मोडल १०० युनिटको आसपास पनि आयात भएको देखिँदैन ।

