ललितपुरको ५ ठाउँमा ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ जडान

काठमाडौं । ललितपुर महानगरपालिकाले ५ ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) ट्राफिक लाइट संचालनमा ल्याएको छ ।

सोमबार महानगरका प्रमुख चिरीबाबु महर्जन वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्वीच अन गरेर उक्त लाइटको उद्घाटन गरेका हुन् ।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्। ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म ५ स्थानमा यस्ता लाइट जडान गरेको छ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी ५ वटा लाइट इन्टिलिजेन्ट जडान गरिएको महानगरपालिकाले जनाएको छ ।

ती लाइटसँगै भेहिकल डिटेक्टर मेसिन पनि राखिएको छ । यसले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ ।

महानगरका प्रमुख महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताए । उनले ललितपुरमा जडान गरिएको इन्टिलिजेन्ट लाइट नेपालमै पहिलो भएको जानकारी दिए ।

नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक भएको उनले बताए। जनचेतना जगाउनका लागि नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने उनको भनाइ छ।

ट्राफिक लाइटबीच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रिन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ । नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक छ,’ उनले भने ।

उक्त लाइट ५ वर्षसम्म महानगरले मर्मत गर्नुपरे पनि १ पैसा पनि खर्च नलाग्ने उनले बताए । नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिए।

यो लाइट फिक्स , पुलिस म्यानुअल , सिङ्क्रोनाइजेशन, एटिसिएस लगायत आवश्यकता अनुसारको मोडमा प्रयोग गर्न सकिने छ । यसमा ५ वर्षसम्म डेटा स्टोर हुन्छ भने सवारीसाधनको र दुर्घटनाको रेकर्ड समेत रहन्छ ।

लाइट जडान गरेको नमूना पावर ग्रेड जेभिले सुरुमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने ५ स्थानमा जडान गरिएको हो ।


Back_to_top