काठमाडौं । कहिले काहीँ आफ्नै उत्पादन बीचको प्रतिस्पर्धा पनि निकै रोचक हुन्छ । त्यस्तै, रोचक प्रतिस्पर्धा अहिले जेको ब्राण्डका दुई एसयूभीमा चल्दैछ ।
मूल्यका हिसाबले जेको जे फाइभ र जे सिक्सको बीचमा ठ्याक्कै ९ लाख रुपैयाँको अन्तर छ । तर, उपभोक्ताको छनोटको अगाडि मूल्य गौण बन्छ । त्यसैले निकै पृथक डिजाइनका यी दुई एसयूभी आफैँ प्रतिस्पर्धा गरिरहेका छन् ।
एसपीजी अटोमोबाइल कम्पनीले चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोको रेट्रो डिजाइन एसयूभी जेको जे सिक्स अघिल्लो वर्ष बजारमा ल्याएको थियो । रियर ह्वील ड्राइभ सिस्टम र मल्टिलिंक इण्डिपेन्डेन्ट रियर सस्पेन्सनको साथ आएको एसयूभीले अलग पहिचान बनायो ।
जे सिक्समा रहेको २०० एमएम ग्राउण्ड क्लियरेन्स र बडी डिजाइनको कारण पहिलो लाइफ स्टाइल इलेक्ट्रीक भेहिकलको रूपमा यसले पहिचान बनाउन सफल भयो ।

गत साउनमा जेकोकै दोस्रो मोडल जे फाइभ नेपाल आयो । नाइमा मोबिलिटी एक्स्पोमा लन्च भएको जे फाइभलाई ‘मिनी रेन्ज रोभर’समेत भन्ने गरेका छन् । यी दुई जेको ब्राण्डका एसयूभीमा रहेका भिन्नता र कुन किन्दा बढी फाइदा पाइन्छ भन्ने विषयलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
मोटर क्षमतामा फरक
नेपालमा मोटर घटाएर गाडी ल्याउने क्रमले अझै निरन्तरता पाइरहेको भए पनि जेकोका दुवै मोडलमा मोटर घटाइएको छैन । जेको जे फाइभमा १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर छ ।
त्यसैगरी, जे सिक्समा भने १३५ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर पाउन सकिन्छ । मोटरको आधारमा जे फाइभ अगाडि छ । पीकटर्कमा पनि जे फाइभ नै बलियो देखिन्छ । जे फाइभको मोटरले २८८ न्युटन मिटर र जे सिक्सको मोटरले २२० न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

ब्याट्री साइजमा फरक
जेको जे सिक्समा ६५.६९ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । उक्त ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर ३८० देखि ४०० किलोमिटरसम्म सजिलै नेपाली सडकमा चलाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई ८० किलोवाटको फास्ट चार्जरले ३० बाट ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्ने कम्पनीको दाबी छ ।
जेको जे फाइभमा ५८.९ किलोवाट आवरको ब्याट्री छ । यसले पनि नेपाली सडकमा ४०० किलोमिटर हाराहारी नै रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको ब्याट्रीलाई १३० किलोवाटसम्मको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ ।

रेन्जका हिसाबले दुवैको लगभग एउटै छ । ब्याट्री साइज ठूलो भए पनि गाडी नै ठूलो हुँदा जे सिक्सको रेन्ज कम देखिएको हो । फास्ट चार्जरको मामलामा भने जे फाइभ अगाडि देखिन्छ ।
साइजमा उस्तै, डिजाइनमा फरक
जेको जे सिक्सको लम्बाइ ४४०६ एमएम, चौडाइ १९१० एमएम र उचाइ १७१५ एमएम अग्लो छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस छ ।
जेकोको जे फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा २५९० एमएम लामो ह्वीलबेस र १८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । साइजमा धेरै ठूलो अन्तर नदेखिए पनि जे सिक्स ठूलो नै लाग्छ । तर, बडी डिजाइन फरक हुँदा ग्राहकको आकर्षण आफ्नो छनोट अनुसार फरक हुनेछ ।

क्याबिन फिचर
जेको जे फाइभमा १३.२ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, ८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, पावर्ड ड्राइभर सिट, भेन्टिलेटेड ड्राइभर र कोड्राइभर सिट, ड्युल जोन एयरकण्डिसन, प्यानारोमिक मुनरुफ, वायरलेस चार्जर, स्पेर टायर दिइएको छ ।
रेट्रो डिजाइनमा बनेको जेको जे सिक्सको क्याबिन पनि अफरोड एसयूभीको झल्को दिने खालको छ । जे सिक्समा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, ९.२ इन्चको फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ छ ।

जे सिक्समा ड्युलजोन अटोमेटिक एसी, पीएम २.५ फिल्टर, पावर्ड ड्राइभर सिट, फ्रन्ट ग्राबह्याण्डल, कुलिङ एण्ड हिटिङ फिचर सहितको ग्लोब बक्स, रियर सिटमुनि स्टोरेज स्पेश दिइएको छ ।
सेफ्टी फिचर
जेको जे सिक्समा सुरक्षाका लागि लेभल २ एडास फिचर दिइएको छ । जुन जे फाइभमा पनि उपलब्ध छ । यसका अलावा ३६० डिग्री क्यामरा, ६ वटा एयरब्याग, एबीएस, ईबीडी, भेहिकल स्टेबिलिटी कन्ट्रोल जस्ता सुरक्षा फिचर दुवै गाडीमा छन् । जे फाइभमा भएको क्यामेरा भने ५४० डिग्री भ्यू हेर्न मिल्ने हो ।

मूल्य
जेको जे फाइभको आधिकारिक मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहे पनि चाडपर्व स्कीममा ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै जेको जे सिक्सको प्रकाशित मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएकोमा स्कीम अन्तर्गत ६५ लाख ९९ हजार रुपैयाँमै उपलब्ध छ ।

