किन यति धेरै चर्चा भइरहेको छ ‘टाइप-००’ इलेक्ट्रीक कारको

काठमाडौं । अहिले वेलायती लग्जरी कार निर्माता ज्यागुअरको नयाँ कन्सेप्ट कार चर्चामा रहेको छ । कम्पनीले देखाएको टाइप–०० नामक कन्सेप्टमा आधारित पहिलो कार सन् २०२५ भित्र बजारमा आउने तयारी भइरहेको बताइन्छ ।

सुरुवातमा बेलायत र अमेरिकामा लन्च हुने ज्यागुअर त्यसपछि मात्रै अन्य बजारमा उपलब्ध हुनेछ । चार ढोका भएको ‘जीटी कन्सेप्ट’मा नै आधारित रहेर कम्पनीले इलेक्ट्रीक ब्राण्डलाई स्थापित गर्ने योजना बनाएको हो । जागुवारले टाइप-०० नाम दिएको उक्त मोडलको पहिलो ० को अर्थ जिरो इमिसन र दोस्रो ० ले रिसेट वा रि-स्टार्टको प्रतिनिधित्व गर्छ ।

जागुवारको नयाँ कन्सेप्टमा विण्ड टनेल, अपराइट नोज, लामो बनेट, ठूलो साइजको ह्वील तथा फ्लेर आउट ह्वीलआर्क देख्न सकिन्छ । कम्पनीले उक्त कन्सेप्टमा परम्परागत ग्रिलमा अग्रेजी अक्षरबाट ज्यागुअर पुरा नाम लेखेको छ । फ्रन्टमा स्लीम हेडलाइट छ भने बम्परको एजमा एयर स्प्लीटर र स्लीम डे टाइम रनिङ लाइट दिएको छ ।

कम्पनीले देखाएको कन्सेप्ट टु डोर भएपनि प्रोडक्सन मोडल भने फोर डोरमा आउने छ । कन्सेप्ट डिजाइनमा टेल लाइट डिजाइन दिएको छैन । तर, प्रोडक्सनमा भने हुनेछ । त्यस्तै यसको रियर टेलगेट ग्लास लेस डिजाइनमा तयार भएको छ । कारको रियर भ्यू ड्राइभरले रियर क्यामराको सहयोगमा अगाडि रहेको स्कृनमै हेर्न सक्नेछ । यसको रुफ स्ट्राइक थ्रू प्यार्टन सहितको ग्लासबाट बनेको छ ।

ज्यागुअर टाइप-०० मा ठूलो साइजको बटरफ्लाई डोर दिएको छ । यसको क्याविन सामान्य डिजाइनमा देखिएको छ । यसमा ब्रासको अनौठो सेन्टर लाइनले दुई भागमा छुट्याएको छ । यो लाइनलाई कम्पनीले स्पाइन भनेको छ । यसको सिट स्टीच फ्रि छ भने ड्यासबोर्डमा समेत ड्राइभर र प्यासेन्जरको लागि छुट्टै स्कृन दिइएको छ ।

ज्यागुअरले यस कन्सेप्टलाई नयाँ जागुवार इलेक्ट्रीक आर्किटेक्चरमा (जेईए) मा बनाउनेछ । कारमा रहने पावरट्रेन र ब्याट्री साइजको बारेमा आधिकारीक जानकारी नदिएपनि पनि यसको अनुमानित डब्लुएलटीपी रेन्ज ७७० किलोमिटरको हुने र १५ मिनेटमा ३२१ किलोमिटर चल्न पुग्ने रिचार्ज हुनेछ ।


Back_to_top