जावाका मोटरसाइकल नेपाल आउने पक्का, माग्यो डिलर

काठमाडौं । क्लासिक लिजेन्ड मोटरसाइकल उत्पादक जावाका उत्पादन नेपाल आउने पक्का भएको छ । कम्पनीले जावा ४२ र पेरकको नेपालमा बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।

विस्तृत विवरण नखुलाइएको भएपनि जावालाई नेपालमा अग्नी मोटोइन्कले बिक्री वितरण गर्ने छ । कम्पनीले आफ्नो बिक्री नेटवर्क विस्तारको लागि डिलरहरुको माग गरेको छ ।

करिब २ वर्षअघि भारतमा सार्वजनिक भएको जावाका उत्पादन निकै चर्चामा रहेका छन् । महिन्द्रा एण्ड महिन्द्राको स्वामित्वमा रहेको जावाले आफ्नो उत्पादन वृद्धि गरेसँगै नेपाल आउने भएको हो ।

महिन्द्रा स्रोतको अनुसार जावाका उत्पादन सकभर दशैंअघि नै नेपालमा बिक्री सुरु हुने छ । यदि दशैमा आउन नसके दिपावलीको समयमा आउने छ ।

क्लासिक लिजेन्डको उपमा पाएको जावा मोटरसाइकल जावा ४२ रेट्रो लुक्समा उत्पादन गरिएको क्लासिक मोडल हो ।

अहिले भारतीय बजारमा यसको मूल्य १ लाख ५५ हजार भारतीय रुपैयाँ रहेको छ । जावा फोर्टी-टुमा ठूलो फ्यूल ट्याङ्की, क्रोम बेजेलको साथमा राउन्ड हेडल्याम्प, बार इन्ड मिररको साथै ब्ल्याक आउट ह्यान्डलबार, फ्ल्याट बेन्च सिट, ब्ल्याक आउट प्यानलजस्ता फिचरहरू उपलब्ध रहेका छन् ।

आर्कषक फ्रन्ट दिइएको यस बाइकको फ्यूल ट्याङ्की र मडगार्डमा क्लासिक गोल्ड पिन्स्ट्रिप्स गरिएको छ भने, साथमा क्रोम बिटहरू पनि राखिएको छ । यस बाइकमा सिगर शेप्ड ट्वीन क्रोम एक्हस्ट पाइपसमेत पनि उपलब्ध छ । कम्पनीले यो बाइकलाई ६ कलर अप्सनमा बजारमा उतारेको छ ।

जावा-४२ मा रहेको इन्स्ट्रुमेन्ट क्लस्टर, ओडोमिटरका लागि डिजिटल रिड आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू दिइएको छ । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली प्यान पनि दिइएको छ ।

२९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।

फोर्टी-टु बाइकमा पछाडि १८ इन्चको ह्वील दिइएको छ । त्यस्तै, अगाडिको ह्वील १७ इन्चको रहेको छ । बाइकमा फ्लोटिङ्ग क्यालिपरसँगै २८० एमएम डिस्क ब्रेक र १५३ एमएम ड्रम ब्रेक दिइएको छ ।

पेरक

पेरक केही दिनअघि मात्रै बजारमा जनवरीबाट बिक्री सुरु गर्ने घोषणा गरेको मोटरसाइकल हो । कम्पनीले भारतमा यसको मूल्य १ लाख ९४ हजार भारु तोकिएको छ ।

बबर स्टाइलमा आएको जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिस मोटर शोमा पेश गरिएको पेराकबाट लिइएको हो । नयाँ पेराकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ ।

उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ भने सुरक्षाको लागि ड्युअल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।


Back_to_top