अमेरिकी ईभी प्रयोगकर्ता दुःखी, नेपाली भने खुसी

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने गाडीबाट विद्युतीय सवारीमा जाने ठूलो जमात तयार भएको छ । तर, विद्युतीय सवारीको लागि अति आवश्यक पर्ने चार्जिङको समयाअवधि र बढ्दो बिजुलीको मूल्यले विश्वभरका ईभी प्रयोगकर्ता निराश भएको एक रिपोर्टले देखाएको छ ।

जेडी पावरले गरेको हालैको अध्ययनले ईभी प्रयोगकर्ताहरू आफ्नो गाडीलाई घरायसी चार्ज गर्ने अनुभवबाट बढ्दो रूपमा निराश भएको पाइएको हो ।

कन्जुमर प्राइस इन्डेक्सका अनुसार कोरोना महामारीपछि महंगी निकै वृद्धि भएको छ । यसैबीच, अमेरिकामा बिजुलीको मूल्य औसत आवासीयदर सन् २०२२ मा २०२१ को तुलनामा १० प्रतिशतले बढेर १४.९६ सेन्ट प्रतिकिलोवाट आवर भएको इनर्जी इन्फर्मेसन एड्मिनीस्ट्रेसनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो सन् २०२१ को डिसेम्बरमा १३.७२ सेन्ट प्रति किलोवाट आवर रहेको थियो । यसले अमेरिकी नागरिकमा ईभी प्रति विश्वास बढ्न सकेको छैन । अमेरिका अत्यन्तै धिमा गतिमा ईभी प्रयोग बढाउने देश बनिरहेको छ ।

जेडी पावरले हालै जारी गरेको यूएस इलेक्ट्रीक भेहिकल एक्सपिरियन्स होम चार्जिङ स्टडीका अनुसार बढ्दो बिजुली दर नै घरायसी ईभी चार्जिङ प्रति असन्तुष्टि हुनको एउटा महत्वपूर्ण कारण हो ।

अध्ययनका अनुसार ईभी प्रयोगकर्ता मध्ये ५१ प्रतिशतलाई मात्रै घरायसी बिजुलीबाट गाडी चार्ज गर्ने विषयमा आफ्नो ब्राण्डले ज्ञान दिएको पाइयो । ज्ञानको अभाव भएकै कारण अहिले विभिन्न गाडी विक्रेता कम्पनीहरूले घरायसी ईभी चार्जिङको पूर्वाधार खरिद र स्थापनाका लागि प्रोत्साहन र छुट दिने व्यवस्था गर्दै आएका छन् ।

त्यसैगरी, ईभीमा घट्दै गएको सन्तुष्टिको अर्को कारण चार्जिङ स्पीड पनि रहेको छ । यसमा पनि धेरै जसोलाई लेभल १ बाट लेभल २ चार्जरमा सर्दा सन्तुष्टिमा उल्लेखनीय सुधार भएको छ ।

यद्यपि, दुई तिहाइभन्दा बढी ईभी प्रयोगकर्ताले लेभल २ चार्जर नै प्रयोग गर्दै आएका छन् । यस वर्षको अध्ययनले २०२२ र २०२३मा ईभी प्रयोगकर्ताहरू २०२१ र २०२० को तुलनामा कम सन्तुष्ट रहेको फेला परेको हो ।

त्यसपछि पुनः गरिएको अध्ययनले धेरैजसो ईभी प्रयोगकर्ताहरूमा सवारी विक्रेता कम्पनीले दिने कार्यक्रम र प्रोत्साहनको बारेमा खासै जागरूक नभएको पाइएको छ ।

नेपालमा भने सकारात्मक परिणाम

नेपालमा ईभी प्रयोग गर्नेहरू अधिकांशले आफ्नै घरको बिजुलीबाट गाडी चार्ज गर्ने गरेको पाइन्छ । हामी कहाँ ईभी प्रयोग गर्ने अधिकांशले आफ्नो घरमा नै ग्यारेज निर्माण गरेको र उसले घरमा नै चार्ज गर्ने गरेको पाइन्छ ।

नेपालमा रहेका फास्ट चार्जिङ नेटवर्कमा पनि निकै कम मात्रै गाडी चार्जको लागि पुग्ने गरेका छन् । हाइवेमा हिँड्दा एकाध पटक ईभी चार्ज गर्ने बाहेक सबै समयमा ग्राहकले आफ्नो घरमा नै ईभी चार्ज गर्ने गरेका छन् । नेपालमा रातिको बिजुली प्रयोग गरेर ईभी चार्ज गर्दा शुल्क पनि कम लाग्छ ।

लामो समय पेट्रोलियम पदार्थको लागि लाइन बस्नुपर्ने, महंगो पेट्रोलको मूल्य र बेलाबखत पेट्रोलको हाहाकार हुने जस्ता कारण पनि नेपालमा घरायसी बिजुलीबाटै गाडी चार्ज गरेर आफ्नो दैनिकी चलाउन सहज भएको देखिन्छ ।


Back_to_top