अटो शोमा नयाँ मोडल सार्वजनिक गर्दै जीप

काठमाडौं । अघिल्लो नाडा अटो शो २०१८ बाट नेपालमा प्रबेश गरेको जीपले यस वर्षको अटो शोमा पनि नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । जीपको नेपालको लागि आधिकारीक वितरक एमएडब्ल्यू लाइफले आफ्नो नयाँ मोडल कम्पास ट्रायलहक नेपाली बजारमा ल्याउने भएको हो ।

एमएडब्लू लाइफ स्रोतका अनुसार अटो शोमा कम्पास ट्रायलहक ल्याउने निश्चित गरेको छ, भने ग्रान्ड चेरोकी र र्याङलर पनि ल्याउन प्रयास गरिरहेको कम्पनीले जनाएको छ । यी सबै गाडी नाडा अटोशाेमा आउने हो भने कम्पनीले ३ मोडल प्रदर्शनी गर्नेछ ।

यस्तो छ आउने निश्चित भएको कम्पास ट्रायलहक

निकै स्टाइलिस देखिएको जीप कम्पास ट्रायलहकमा ८.४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित स्याटेलाइट नेभिगेसन सिस्टम समेत रहेको छ । यो विशेषता ट्रायलहकको सबै भेरियन्टमा उपलब्ध हुनेछ । 

जीप कम्पास ट्रायलहकमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन रहेन छ, जसमा टर्क कन्भटर समेत दिइएको छ । ट्रायलहकमा प्रदुषण मापदन्ड बीएस–६ अनुसारको २.० लिटर मल्टिजेट आइआइ डिजेल इन्जिन रहेको छ । यो गाडीमा विभिन्न आधुनिक विशेषताहरु समावेश भएका छन् । 

जीप कम्पास ट्रायलहकको नेपाली बजार मूल्य १ करोड २० देखि ३० लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । यद्यपी गाडी नेपाल ल्याउने क्रममा रहेकाले मूल्य भने निश्चित भइनसकेको कम्पनी स्रोतको भनाई छ ।

अन्य दुई मोडल जीपको चर्चित मोडलहरु हुन् । सिधै अमेरिकी प्लान्टबाट ल्याउन लागिएको ग्रान्ड चेरोकी र र्याङलर अटो शोमा आई पुग्ने वा नआईपुग्ने भन्ने विषयमा अहिल्यै केही भन्न सकिने अवस्था नरहेको कम्पनीले जनाएको छ ।  

यसवर्षको नाडा अटो शो २०१९ आगामी भदौ १० गतेदेखि काठमाडौंको भृकुटी मन्डपमा आयोजना हुने छ । 


Back_to_top