काठमाडौं । टोयोटा हायस नेपालमा निकै सफल मोडल हो । माइक्रो बस सेग्मेन्टमा सुरुमा लो-रुफमा उपलब्ध हाइसपछि हाइरुफमा आएको थियो ।
टोयोटा हायसको पाँचौं जेनेरेसन मोडलमा आधारीत रहेको जिनबेइ ब्राण्डले इलेक्ट्रीक माइक्रो बस उत्पादन गरिरहेको छ । चिनियाँ उत्पादक जिनबेइ अटोमोटिभ कम्पनीले इलेक्ट्रीक हायस उत्पादन गर्दै आएको छ । यसलाई अब नेपाली बजारमा एसटीसी ग्रुपले बिक्री सुरू गर्न लागेको हो ।
लामो समयदेखि टायर, ट्युब, ल्युब र स्पेयर पार्ट्सको क्षेत्रमा काम गर्दै आएको एसटीसी ग्रुपले विद्युतीय माइक्रो बसबाट गाडी बिक्रीमा प्रवेश गरेको हो । कम्पनीले ल्याउन लागेको नयाँ इलेक्ट्रीक हायस फिचरका हिसाबले पनि उत्कृष्ट देखिएको छ ।
हाइरुफ डिजाइनमा रहेको जिनबेइ हायसको लम्बाइ ५३५० एमएम, चौडाइ १६९० एमएम र उचाइ २२२५ एमएम छ । यसमा २९२० एमएम लामो ह्वीलबेस र १५ इन्चको ह्वील पाउन सकिन्छ ।
सीएटीएलले उत्पादन गरेको ५३.५८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध माइक्रोबसमा १०० किलोवाटको पावरफुल इलेक्ट्रीक मोटर दिइएको छ । यसले ६.६ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले सजिलै चार्ज गर्न सकिन्छ ।
जिनबेइ हायसको पीकटर्क पनि निकै उत्कृष्ट छ । यसले ३०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । माइक्रो बसको अगाडि टोर्सन बारसहितको डबल विस्बोन सस्पेन्सन प्रयोग गरिएको छ भने पछाडि लिफ स्प्रीङ सस्पेन्स छ ।
माइक्रो बसको स्टेरिङ पनि कारको जस्तै चालकको हाइट अनुसार तल/माथि मिलाउन मिल्छ । गाडीमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेकको प्रयोग गरिएको छ । यसमा १५ इन्चकै स्पेयर टायर पनि उपलब्ध हुनेछ ।
सुरक्षाको लागि माइक्रो बसको चालक र अगाडिको प्यासेन्जरको लागि थ्री पिन सिट बेल्ट दिइएको छ । पछाडिका प्यासेन्जरको लागि भने टु पिन सिट बेल्ट उपलब्ध छ ।
जिनबेइ हायसमा फिचरहरूको लामै लिस्ट उपलब्ध छ । यसमा अगाडि पावर विन्डो, सेन्ट्रल डोर लक सिस्टम, इलेक्ट्रीक मिरर एड्जस्टमेन्ट, रियर पार्किङ सेन्सर, रियर भ्यू क्यामेरा, फ्रन्ट र रियरमा वाइपर, रियर डिफगर, ड्राइभिङ मोड, एसी र अगाडिको लागि हिटर उपलब्ध छ ।
मल्टिमिडिया प्लेयर र ४ वटा स्पीकर सहित आउने माइक्रो बस जिनबेइ हायसमा १४ जनाले आरामदायी यात्रा गर्न सक्ने छन् । कम्पनीले यसको मूल्य घोषणा गरिसकेको छैन । सम्भवतः ५६ लाख रुपैयाँ आसपासको मूल्यमा यसको बिक्री सुरू हुनेछ ।

