काठमाडौं । चांगान अटोमोबाइल अन्तर्गत न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलले ७ लाख युनिट कार डेलिभरी पूरा गरेको छ ।
चांगानले आफ्नो कुल उत्पादन ३ करोड पुगेको घोषणा गरेकै दिन दीपलको डेलिभरी संख्या ७ लाख नाघेको उल्लेख गरेको हो ।
दीपलले आफ्नो उत्पादन लाइनअप तीव्र गतिमा विस्तार गरेसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । सन् २०२२ मा एसएल ०३ मोडल सार्वजनिक गरेपछि ब्राण्डले २०२३ मा एस ०७ बजारमा ल्याएको थियो ।
सन् २०२४ मा जी३१८, एल०७ र एस०५ थपिँदा ब्राण्डले पूर्ण इलेक्ट्रीक तथा रेन्ज एक्सटेन्डेड दुवै सेग्मेन्टमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । सन् २०२५ मा प्रवेशसँगै एस ०९ र एल ०६ समेत लाइनअपमा थपिएको छ । जसले ईभी बजार अझै बढाउने अपेक्षा गरिएको छ ।
ग्वान्झाउ अटोमा दीपलका अध्यक्ष डेंग चेंघाओले केही महिनाहरूमा कम्पनीले नाफा कमाउन सफल भएको बताएका थिए । कम्पनीले नयाँ मोडेलहरूमा ठूलो लगानी गरिरहे पनि युवावस्थाको ब्राण्डका लागि यो महत्वपूर्ण उपलब्धि हो ।

यसअघि चांगानका बोर्ड सेक्रेटरीले महिनामा ३० हजार युनिट बिक्री पुगेपछि ब्राण्ड ब्रेक इभेनमा पुग्ने बताएका थिए । हाल दीपलले यो सीमा लगातार पार गर्दै आएको छ ।
लगानी आकर्षण र नयाँ शेयर संरचना
कम्पनीले हालैं नयाँ लगानी र फन्डरेजिङ प्रक्रिया सुरू गरेको छ । चोङकिङ युनाइटेड असेट एन्ड इक्विटी एक्सचेन्जमा सूचीकरण गरी डिसेम्बरको अन्त्यसम्म रणनीतिक लगानीकर्ता आकर्षित गर्ने तयारीमा छ ।
योजनाअनुसार नयाँ शेयरधनीको स्वामित्व २० प्रतिशतभन्दा बढी हुँदैन । उठाइने रकम सवारी विकास, स्मार्ट तथा विद्युतीय प्रविधि र अन्तर्राष्ट्रिय विस्तारमा खर्च गरिने छ ।
मासिक बिक्रीमा स्थिरता
उद्योग तथ्यांकअनुसार दीपलले सेप्टेम्बरमा ३३ हजार ६०० र अक्टोबारमा ३६ हजार ८०० युनिट विश्वव्यापरु रूपमा डेलभरी गरेको छ । यो बिक्री वृद्धिको प्रमुख कारण एस०७ र एस०५ जस्ता सफल मोडलहरू हुन् । एस०७ ले महिनामा १० हजार युनिटभन्दा बढी बिक्री कायम राख्दै ३ लाख युनिट क्युमुलिटभ बिक्री पार गरिसकेको छ ।

एस०५ ले भने पहिलो महिना (सेप्टेम्बर)मै झण्डै २० हजार युनिट विश्वव्यापी डेलिभरीसहित बजारमा अग्रणी प्युअर इलेक्ट्रीक कम्प्याक्ट एसयूभी बनेको छ ।
दीपलले आगामी वर्षहरूमा एकतिहाइदेखि आधासम्म बिक्री विदेशी बजारबाट ल्याउने लक्ष्य लिएको छ । कम्पनीले सन् २०२५ सम्ममा १०० देश तथा क्षेत्रमा आफ्नो उपस्थितिमा विस्तार गर्दै ५६ हजार युनिट बिक्री लक्ष्य राखेको छ ।
सन् २०३० सम्म कम्पनीले ३ लाख ८० हजार युनिट विश्वव्यापी डेलिभरी लक्ष्य राखेको छ । जसले चांगानको ग्लोबल विस्तार रणनीतिमा दीपललाई एक प्रमुख आधार स्तम्भ बनाउने छ ।

