भारतीय इलेक्ट्रीक स्कुटरपछि चिनियाँ ब्राण्ड जोङसेन भित्र्याउँदै ज्योति ग्रुप

काठमाडौं । हालै भारतीय इलेक्ट्रीक स्कुटर इलेक्ट्रीक वान नेपाल भित्र्याएको नेपाल जनरल मार्केटिङले चिनियाँ ब्राण्ड ल्याउने भएको छ ।

कम्पनीले चिनियाँ कम्पनी जोङसेन, साइक्लोन ब्राण्डका दुईपाँग्रे सवारी साधन नेपाल ल्याउने भएको हो । साइक्लोन जोङसेनकै सब ब्रान्ड हो । जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ । चिनियाँ टप ५ उत्पादक मध्ये एक रहेको कम्पनी हो ।

जनरल मार्केटिङले कान्तिपथमा जोङसेनको शोरुम निर्माण सम्पन्न गरिसकेको छ । अब चाँडै नै इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जोङसेन र साइक्लोन ब्रान्ड अन्तर्गत एड्भेन्चर मोडल तथा क्रुजर मोटरसाइकल ल्याउने अनुमान गरिएको छ । जोङसेनले चिनियाँ बजारमा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल समेत उत्पादन गर्दै आएको छ ।

कम्पनीले हालै भारतीय ब्राण्ड इलेक्ट्रीक वानको उत्पादन ई १ नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले १२० किलोमिटर रेन्ज दिने दाबी गरेको यो स्कुटरको मूल्य ३ लाख २० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

यो स्कुटरमा २.४ किलोवाट क्षमताको मोटरका साथै ७२ भोल्ट ४० एम्पियर आवरको ब्याट्री रहेको छ ।

भारतीय मोटरसाइकल हिरो बिक्री गर्दै आएको कम्पनीले लामो विवादपछि उक्त ब्राण्ड गुमाएको थियो । त्यसपछि कम्पनी एकपछि अर्को ब्राण्डहरू भित्र्याउन थालेको हो ।


Back_to_top