अब कलंकीको जाममा बस्नु नपर्ने

काठमाडौं । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । 

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर-बल्खुपुल-कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । 

कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । 

साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिए । कोटेश्वर-बल्खुपुल-कलंकी १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमीको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको जनाइएको छ । 

चिनियाँ युआन २१ करोड २० लाख अर्थात् नेपाली करिब  पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ । 

दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवं पाइपलगायत अस्थायी संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । 

साउन अन्तिमसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । चीन सरकारले नै डिजाइन तयारी गरिरहेको जनाइएको छ । त्यसलगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज-कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन । 

यसअघि आयोजनाले असार दोस्रो सातामै अण्डरपास सञ्चालनमा ल्याउने भने पनि फिनिसिङ र कालोपत्रको काम नसकिएकाले ढिलाइ भएको हो । 


Back_to_top