काठमाडौं । मेगा बिजनेश ग्रुपले नेपाल ल्याएको कामाको पीकअप ट्रक काठमाडौं आइपुगेको छ । निकै ठूलो कार्गो स्पेश रहेको मिनी ट्रक पावर र रेन्जको हिसावले पनि निकै राम्रो रहेको कम्पनीले जानकारी दिएको छ ।
‘हामीले स्वरोजगार बन्न चाहने युवा लक्षित भएर मिनी ट्रक नेपाल ल्याएका छौं । यसमा ७० किलोवाटको मोटर र ३८ किलोवाट आवरको लिथियम आयोन फस्फेट (एलएफपी) ब्याट्री प्याक रहेको छ’, कम्पनीका प्रबन्ध निर्देशक महेश पालले मेरोअटोसँग भने ।

कम्पनीले २५० किलोमिटर सिंगल चार्जमा दावी गरेको पीकअप ट्रक हामीले काठमाडौं नक्सालबाट नगरकोटसम्मको झण्डै ५० किलोमिटर दुरी चलाएर हेरेका थियौं । उक्त ड्राइभमा गाडी खाली रहेको कारण रेन्ज भने कम्पनीको दावीभन्दा केही कम २०० किलोमिटर माथि आउने देखियो ।

१० फिट लामो र ५.५ फिट चौडाई भएको कार्गो स्पेश पाउन सकिने कामाको मिनी ट्रकको पेलोड क्षमता १.५ टन (१५०० केजी) रहेको छ । कम्पनीले यसको मूल्य २५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरू गर्ने भएको हो ।

घरायसी प्रयोजनका सामान र औद्योगिक उत्पादन ओसार पसार गर्न मिल्ने कामा मिनी ट्रकमा सहजै पानी, तरकारी, फर्निचर, खाद्यान्न, लताकपडा ओसार पसार गर्न मिल्छ ।


