काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कंचनपुर-कमला सडकको ५ वर्षमा करिब ६६ प्रतिशत मात्रै काम पूरा भएको छ ।
३ वर्षमा काम सक्ने गरी २०७७ कात्तिक १३ गतेदेखि चारलेनमा स्तरोन्नति गर्न सुरू गरिएको यो सडक दोस्रो पटक थपिएको म्याद भित्र पनि सम्पन्न नहुने निश्चित भएको हो ।
ठेक्का सम्झौता अनुसार यो सडक निर्माण २०८० कात्तिक ११ मा सकिनुपर्थ्यो । सो अवधिमा काम पूरा नभएपछि पहिलोपटक म्याद २०८१ पुस १३ गतेसम्म म्याद थपिएको थियो । थपिएको समयमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटक थपिएको म्याद २०८२ पुस १६ गते (२०२५ डिसेम्बर ३१) सकिँदै छ ।
दोस्रो पटक थपिएको म्याद सकिन २ महिना मात्रै बाँकी रहँदा अझै ३४ प्रतिशत काम बाँकी छ । यस अवधिमा बाँकी काम सम्पन्न गर्न असम्भव देखिएको छ ।
दुई लेनमा रहेको सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६.८३ किलोमिटर सडकलाई सहरी क्षेत्रमा ६ र अन्य क्षेत्रमा ४ लेनको बनाउन लागिएको हो । यो सडक एशियाली विकास बैंकको ऋण सहयोगमा फराकिलो बनाउन लागिएको हो ।
कुल १५ अर्ब ६६ करोड रुपैयाँ (भ्याट र पिससमेत) लागत रहेको यो सडक दुई खण्डमा ठेक्का लगाइएको छ । सप्तरीको कञ्चनपुरदेखि कुशहवासम्म ३९.४२ किलोमिटर (पूर्वीखण्ड) र सिरहाको बलानबाट कमलासम्म ४७.४१ किलोमिटर (पश्चिमखण्ड) रहेको छ ।
दुवै खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुप’ले पाएको छ । पूर्वीखण्डको ठेक्का ७ अर्ब २७ करोड र पश्चिम खण्डको ८ अर्ब ३९ करोड रुपैयाँमा पाएको हो ।
यस्तो छ प्रगति
यो सडक सही क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनमा विस्तार भइरहेको छ । जसमा ८६.८३ किमी कालोपत्र, ५४ वटा पुल र २२९ वटा कल्भर्ट निर्माण निर्माण गर्नुपर्ने सम्झौता रहेको छ । समग्रमा भौतिक प्रगति ६६ प्रतिशत पुगेको छ ।

३९.४२ किमी लामो पूर्वीखण्डको हालसम्मको भौतिक प्रगति ६४ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत पुगेको योजना प्रमुख निरज शाक्यले जानकारी दिए ।
दुईतर्फ गरी कुल ७४ किमी कालोपत्र गर्नुपर्नेमा हालसम्म ४० किमी सम्पन्न भएको उनले बताए । जसमा दाँयातर्फ २१ किमी र बाँयातर्फ १९ किमी रहेको । त्यस्तै, कालोपत्रका लागि करिब १५ किमीमा बेस र सबबेस राखिएको उनले बताए ।
‘पूवीखण्डमा दुईतर्फी गरेर ७४ किमी कालोपत्र गर्नुपर्छ । सोमध्ये ४० किमीमा सम्पन्न भइसकेको छ । अधिकांश बजार क्षेत्रमा कालोपत्रको काम सकिएको छ,’ उनले मेरोअटोसँग भने, ‘थप १५ किमी सडक कालोपत्रको तयारी भइरहेको छ । बेस र सबबेस राखिएको छ । चाँडै कालोपत्र हुन्छ ।’
यसखण्डमा रहेका २९ मध्ये २८ वटा पुल निर्माण भइसकेको छ । सुन्दरी खोला पुलको ढलाइको काम भइसकेको उनले बताए । निर्माणको क्रममा तारखानामा थप एउटा पुल थपिएको उनले बताए । उक्त पुलको अहिले डिजाइन बनी स्वीकृतिको चरणमा रहेको उनले बताए ।
त्यस्तै, कल्भर्ट तर्फ सबै (११३ वटै) निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । पूर्वीखण्डको रुपनीमा २ वटा ओभरपास निर्माण भइरहेको छ । योजना प्रखुम शाक्यका अनुसार दुवै ओभरपासको ब्रिज स्ट्रक्चरको काम सकिएको छ । अहिले र्याम्प निर्माणका लागि आरई वाल लगाउने काम भइरहेको उनले बताए ।
पूर्वीको तुलनामा पश्चिम खण्डको भौतिक प्रगति थोरै बढी छ । पश्चिम खण्डका योजना प्रमुख उज्ज्वल श्रेष्ठका अनुसार हालसम्म भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ५५ प्रतिशत पुगेको उनले बताए ।
उनका अनुसार ४७ किमीमध्ये हालसम्म ३२ किमी चारलेनमा कालोपत्र सकिएको छ । जसमा बाँयातर्फ ३५.२४ किमी र दायाँतर्फ २८ किमी रहेको छ । ‘दुवैतर्फ गरी कुल ४७ किमी सडक कालोपत्र गर्नुपर्छ । सोमध्ये हालसम्म दायाँबाँया दुवैतर्फ गरी ३२ किमी चारलेनमा कालोपत्र भएको छ । धेरैजसो बजार क्षेत्रमा कालोपत्र भएको छ । गोलबजारमा भने बाँकी छ,’ उनले मेरोअटोसँग भने, ‘कालोपत्र गर्न बाँकी क्षेत्रमा पनि सबबेस राख्ने काम लगभग सकिएको छ ।’
पुलतर्फ २५ वटै पुल निर्माण सकिएको उनले बताए ।तीमध्ये १३ वटामा गाडी गुड्न थालिसकेको उनले जानकारी दिए । ‘यसखण्डका सबै पुल निर्माण सकिएको छ । १३ वटामा गाडी गुड्न थालिसके । १२ वटामा पनि एक/दुई सातामै गुडाउने तयारी भइरहेको छ,’ उनले भने ।
यस खण्डमा ११५ वटा कल्भर्ट बनाउनुपर्नेमा ११२ वटा सम्पन्न भएको उनले बताए । ३ वटा भने डिजाइन गरिए पनि आवश्यक नदेखिएकाले नबनाइने भएको उनले बताए ।
त्यस्तै, पश्चिम खण्डमा ६ वटा ओभरपास निर्माण भइरहेको छ । योजना प्रमुख श्रेष्ठका अनुसार लहानमा ४, गोलबजार, मिर्चैयामा १/१ वटा ओभरपास निर्माण भइरहेको छ ।

लहानको ४ मध्ये ३ ओभरपासको ब्रिज स्ट्रक्चर निर्माण भइसकेको छ भने एउटाको फाउन्डेसनको पाइलको काम भइरहेको उनले बताए ।
त्यस्तै, मिर्चैयाको फाउण्डेसन निर्माण सकी आरई वाल लगाउने काम भइरहेको छ । स्थानीयसँगको विवादले गोलबजारको भने काम सुरू हुन सकेको छैन । पहिला सडकको दुवैतर्फ एक एक वटा ओभरपास बनाउने डिजाइन गरिएको थियो । उक्त स्थानमा अहिले बीचको लेनमा एउटा मात्रै बनाउन स्थानीय र नगरपालिका अग्रह गरेकाले नयाँ डिजाइनको काम अन्तिम चरणमा पुगेको उनले बताए । यहीखण्डको बन्दीपुरमा एउटा एनिमल क्रसिङ पनि बन्दैछ ।
दुवै खण्डमा साइट क्लियरेन्स गर्न बाँकी
आयोजनाको झण्डै दुईतिहाई काम सम्पन्न हुन लागदा समेत साइट क्लियरेन्सको काम भने सकिएको छैन । व्यक्तिगत घर, बिजुलीका पोल र ट्रान्फर्मर हटाउन बाँकी रहेका छन् ।
पश्चिमखण्डको विभिन्न ठाउँमा अझै १४६ वटा बिजुलीका खम्बा स्थान्तरण गर्न बाँकी छ । योजना प्रमुख श्रेष्ठका अनुसार गोलबजारमा १००, लहानमा १७ वटा र चोरबामा २० वटा पोल हटाउन बाँकी रहेको उनले बताए ।
पूर्वीखण्डमा भने दुई वटा घर हटाउन र एउटा ट्रान्सफर्मर हटाउन बाँकी रहेको योजना प्रमुख शाक्यले जानकारी दिए । ‘वीरेन्द्र बजारमा दुइटा घर र कल्याणपुरमा एउटा ट्रान्सफर्मर हटाउन बाँकी छ । घरधनीले मुआब्जै लिन मानेका छैनन् । ट्रान्सफर्मर भने चाँडै हटाइदिने प्राधिकरणले प्रतिबद्धता जनाएको छ,’ उनले भने ।
फेरि म्याद थप्न प्रस्ताव
आयोजनाको हालसम्मको प्रगति हेर्दा दोस्रोपटक थपिएको म्याद भित्र पनि नसकिने निश्चित छ । हालसम्म आयोजनाको ६६ प्रतिशत मात्रै काम पूरा भएको छ । अब ४ महिना (पुस १६ भित्र) ३४ प्रतिशत काम सम्पन्न गर्नुपर्ने देखिन्छ । जुन असम्भव जस्तै छ ।

पूर्वीखण्डका योजना प्रमुख शाक्यले ठेकेदार कम्पनीले ३०० दिन म्याद थप्न प्रस्ताव गरेको जानकारी दिए । उक्त प्रस्ताव बारे अहिले परामर्शदाताले अध्ययन गरिरहेको उनले बताए ।
‘ठेकेदारले साइट क्लियरेन्स नभएको मुख्य कारण देखाउँदै ३०० दिन म्याद थप्न प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बारे अहिले परामर्शदाताले अध्ययन गरिरहेको छ । परामर्शदाताको सुझाव अनुसार कति दिन म्याद थप्ने भन्ने एकीन हुन्छ,’ उनले भने ।
पश्चिम खण्डमा भने अहिलेसम्म म्याद थपको प्रस्ताव नआएको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । अहिले ठेकेदारले म्याद पथकका लागि कागजपत्र बनाइरहेको जानकारी आएको उनले बताए ।
‘अहिलेसम्म म्याद थपको प्रस्ताव आएको छैन । कागजपत्र बतायर गरिरहेको भन्ने सुन्न आएको छ,’ उनले भने, ‘कामको गति हेर्दा कम्तीमा ६ महिना म्याद थप्नुपर्ने देखिन्छ ।’ केही स्थानमा स्थानीको अवरोधले काम गर्न कठिनाइ समेत भइरहेको उनले बताए ।
दुवै खण्डमा सडक निर्माणले अपेक्षित गति लिन नसक्दा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मले हुने स्थिति छ । निर्धारित समयमा पूर्वाधार निर्माण हुन नसक्दा देशको अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने गरेको विज्ञहरू बताउँछन् ।

