काठमाडौंदेखि ताप्लेजुङसम्म विद्युतीय कारमा यात्रा गर्दा…

संकेतिक तस्बिर

काठमाडौं । ईभी लिएर कसरी लामो यात्रा गर्न सकिन्छ र ? कार किन्न चाहने मानिसले गर्ने पहिलो प्रश्न नै यही हो । यसको एउटा पहिलु खोतल्न हामीले काठमाडौंदेखि ताप्लेजुङसम्मको यात्रा ईभीमा गर्ने निधो गर्‍यौं ।

हाम्रो टीममा चार जना थियौं । म, साथीहरु उज्वल घिमिरे, मुकेश गुप्ता र दिवाकर सापकोटा । हामी मध्ये तीन जना काठमाडौंको सिनामंगल र एक जना दिवाकर भिमानबाट हाम्रो गाडीमा चढेका थिए । हामी ४ जनाको कुल तौल ३२४ केजी थियो । साथै, हाम्रो लगेजहरु करिब २० केजी थियो । कुल मिलाएर गाडीमा ३४४ केजी लोड थियो ।

हामीसँग यो यात्रामा थियो ‘नेटा भी’ इलेक्ट्रीक क्रसओभर कार । सिंगल चार्जमा ३५० किलोमिटरभन्दा धेरै रेन्ज दिने यो कारलाई हामीले चार दिनमा एक हजार ३५० किलोमिटर चलायौं । हामीले औषतमा दैनिक ३३७ किलोमिटर चलाएका थियौं ।

विद्युतीय कार चलाउनु ड्राइभिङ मात्रै होइन, कला पनि हो भन्ने कुरा हामीले यो यात्रामा भोग्यौं । आइतबार विहान काठमाडौंबाट ९४ प्रतिशत चार्जमा निस्केका हामी उदयपुरको बेलका भन्ने स्थानमा पुगेर चार्ज जोड्नु पर्ने अवस्थामा पुग्यौं । यहाँ पुग्दा हामीले ३२२ किलोमिटर यात्रा गरिसकेका थियौं । हामीसँग ५ प्रतिशतभन्दा कम चार्ज बाँकी थियो । बेलकामा करिब ९० मिनेट चार्ज गरेर फुल चार्जसहित हामीले यात्रा सुरु गरेका थियौं ।

बेलका, इनरुवा, इटहरी, दमक हुँदै हामी विर्तामोड पुग्यौं । विर्तामोडमा खर्च भएको २५ प्रतिशत चार्ज थप्ने निर्णय गरेर चार्जमा जोड्यौं । चिया विश्रामपछि हामी गाडी लिएर इलामतर्फ लाग्यौं ।

ताप्लेजुङमा रहेको महिन्द्रा सर्भिस सेन्टर, यहाँ हामीले चार्ज गरेका थियौं ।

मौसम खराब भएको कारण कन्यामबाट राती अगाडि नजाने निधोसहित हामी पहिलो दिनको बास कन्याममै बस्यौं । राती होटलमा खर्च भएको १५ प्रतिशत चार्ज पुरा गर्ने निधो गरेर ३.३ किलोवाटको चार्जरबाट गाडी चार्जमा जोडेर सुतियो । बिहान उठ्दा फुल चार्ज भएको रहेछ ।

सोमबार विहान ६ बजे कन्यामबाट निस्केर ३ बजे ताप्लेजुङ पुग्यौं । ताप्लेजुङमा रहेको महिन्द्रा सर्भिस सेन्टरमा चार्जमा राख्ने ब्यवस्था गरियो । त्यहाँ गाडी चार्जमा राखेर पाथीभरा मन्दिरको यात्रामा निस्कियौं । करिब २१ घन्टा हामी मन्दिर यात्रामा थियौं । ग्यारेजमा हाम्रो साधन चार्जमा थियो ।

मंगलबार विहान ११ बजे हामी पाथीभरा मन्दिर दर्शन गरेर फर्केका थियौं । आउँदा ९४ प्रतिशत चार्ज भएको रहेछ । त्यहाँबाट गाडी निकालेर हामी काठमाडौं फर्कने निधोमा पुग्यौं । अब यात्रा गर्नु थियो पहाडी बाटोको ताप्लेजुङ, पाँचथर र इलाममा थप चार्ज गर्न सकिने अवस्था थिएन । किन भने त्यहाँ फास्ट चार्जर थिएन, स्लो चार्जरले एक घन्टामा तीन किलोवाट मात्रै चार्ज हुन्थ्यो । तर, हामी १९ प्रतिशत चार्ज बाँकी छदै विर्तामोड आइपुगेका थियौं ।

यात्रामा सहभागी ४ जना

पहाडी बाटोमा ईभी चलाउँदा

उकालो ईभीको लागि सबैभन्दा बढी उर्जा खपत गराउने साधनमा पर्छ । तर, जब ओरालो भेट्टाउँछ, तब ईभीले ब्याट्री चार्ज गर्छ । हामीले उकालोमा ब्याट्री खर्च गर्न कन्जुसाई गरेनौं, ओरालोमा हात्तारिएर दौडिएनौं । धेरैभन्दा धेरै रिचार्ज गर्ने प्रतिस्पर्धा नै गर्‍यौं ।

कस्तो प्रतिस्पर्धा भन्नु होला । हाम्रो गाडीमा यात्रा गर्ने ४ जना नै गाडी चलाउन जान्ने थियौं । कसले धेरै रिजेन गर्न सक्छ भन्ने प्रतिस्पर्धा नै चल्यो । उकालोमा जति खर्च भएको हुन्थ्यो, त्यसको ४५ प्रतिशत रिजेन गर्नुपर्छ भन्ने हिसाव निकालेर पहाडी बाटोमा यात्रा गरेकै कारण १९ प्रतिशत चार्ज बाँकी रहँदै ताप्लेजुङबाट विर्तामोड आउन सफल भएका हौं । यहाँको कुल लम्बाई २०९ किलोमिटर थियो ।

कुनैपनि बाटोमा फिट हुन्छ ईभी

हाम्रो अनुभवमा ईभी नेपालको कुनै पनि बाटोमा राम्रोसँग हिसाव किताव गरेर चलाउन सकिन्छ । हामीले बुधबारको यात्रा दमकमा रहेको ‘नेपालीरिका’ होटलबाट सुरु गरेका थियौं ।

विहान ७ बजे हामी दमकबाट निस्केका थियौं । गाडी ९९ प्रतिशत चार्ज थियो । दमकबाट इटहरी, कान्छीबाजार, बराह क्षेत्रहुँदै गाईघाटबाट सिन्धुली बजार पुग्यौं । सिन्धुलीमाढी बजारमा आउँदा गाडीमा केबल २० प्रतिशत चार्ज थियो । त्यहाँ चार्जर भएपनि गाडी चार्ज नगर्ने निर्णय लिएका उज्वल र मुकेशले यात्रा निकै सकस पूर्ण बनाउँछन् भन्ने मेरो मनमा लागेको थियो । चालक सिटमा थिए उज्वल, उनिसँगै अगाडि सिटमा थिए मुकेश । म र दिवाकर पछाडि थियौं ।

सिन्धुलीको उकालो चढेर खनियाँखर्क आइपुग्दा गाडीमा ३ प्रतिशत मात्रै चार्ज थियो । तर, खनियाखर्कबाट खुर्कोटसम्म झर्दा गाडीमा ८ प्रतिशत चार्ज पुग्यो । त्यहाँबाट फास्ट चार्जरको लागि मुलकोट आउनु थियो । त्यो ८ प्रतिशत मध्ये ५ प्रतिशत खर्च गरेर मुलकोटमा रहेको अक्षित बीच रिसोर्टमा आएर गाडी चार्ज गर्‍यौं ।

यसले हामीलाई सानो असावधानीले कसरी समस्यामा पर्न सकिन्छ भन्ने पाठ पढाएको थियो । यदि तपाई पनि कतै यात्रामा हुनुहुन्छ र गाडीको चार्ज ४० प्रतिशतभन्दा कममा आएको बेला चार्जर भेटियो भने चार्ज गर्न नभुल्नु होला । पछि अनेक उपाय खोज्नुभन्दा चार्जरमा जोडेकै राम्रो ।

प्राधिकरणको चार्जर उत्कृष्ट

नेपाल विद्युत प्राधिकरणले देशको विभिन्न ५१ स्थानमा जडान गरिरहेको चार्जरहरु उच्च क्षमताका छन् । सामान्यतया नेपालमा विक्री हुने ईभीहरु प्राधिकरणको चार्जरमा लगेर २० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने हो भने ३५ मिनेट खर्च गर्दा पुग्छ । जुन ३५ मिनेट भनेको एक कप चिया पिउन लाग्ने समय हो ।

अहिले नेपाल विद्युत प्राधिकरण जडान गरेका चार्जिङ स्टेशनहरु फराकिलो स्थानमा रहेको कारण एक पटकमा ३ वटा कारसम्म चार्ज गर्न सकिन्छ । हरेक स्थानमा बनेको चार्जिङ स्टेशनमा दुईवटा डिसी चार्जर गन र एउटा ७.२ किलोवाटको एसी चार्जर गन पाउन सकिन्छ ।

अहिले निजी क्षेत्रले जडान गरेको स्टेशनको तुलनामा प्राधिकरणको चार्जिङ स्टेशन निकै भरपर्दो रहेको देखिन्छ । देशका मुख्य ठूला बसपार्क, हाइवे र सहरमा यस्ता स्टेशन निर्माण भएका छन् । जसले ईभी चढ्नेहरुलाई संजिवनीको काम गर्छ ।

अत्यन्त न्यून खर्च

हामीले १३५० किलोमिटर नेटा भी चलाउँदा १७१ यूनिट विजुली खर्च गरेका थियौं । नेपाल विद्युत प्राधिकरणले प्रति यूनिट १० रुपैयाँको दरले विजुली दिने हुँदा जम्मा एक हजार ७१० रुपैयाँको विजुली खर्च भयो । जुन प्रतिकिलोमिटर इन्धन खर्च एक रुपैयाँ २६ पैसा हाराहारी पर्न गयो ।

यदि यही यात्रा कम्बस्चन इन्जिन भएको सब फोर मिटर एसयूभीमा गरेको भए कम्तीमा ११२ लिटर पेट्रोल खर्च हुन्थ्यो । आजको मूल्यमा पेट्रोल किन्दा १९ हजार ६०० रुपैयाँ पथ्र्यो । त्यसको प्रतिकिलोमिटर रनिङ कस्ट १४ रुपैयाँ ५८ पैसा पथ्र्यो । अझ यसमा सर्भिसिङ लगायतको कस्ट जोड्दा थप महंगो पर्ने थियो ।

निस्कर्ष

लामो यात्रामा ईभी काम छैन भन्ने तपाईलाई लागेको छ भने त्यो भ्रममा नपर्नुहोस् । चल्तीका ब्राण्डले विक्री गर्ने कुनै पनि ईभी लिएर तपाई नेपालको जुनसुकै कुनामा यात्रा गर्न सक्नु हुन्छ ।

विद्युतीय गाडीमा ग्राउन्ड क्लियरेन्स कम हुने भएको कारण सावधानी अपनाएर चलाउन भने पर्छ । देशका मुख्य राजमार्ग कालोपत्रे भएको कारण तपाईले ढुक्कसँग ईभी खरिद गरेर चढ्न सक्नु हुन्छ ।


Back_to_top