काठमाडौं । अहिले सबैभन्दा कम मूल्यको कार भनेकै २० लाख रुपैयाँ पर्न थालेको छ । तर, त्यो सस्तो भनिएको कारमा सिट, स्टेरिङ, क्लच, ब्रेक र एक्सीलेटर बाहेक अर्को फिचर देख्न पाइदैन । त्यो मध्येको एउटा कार हो मारुती सुजुकी अल्टो । हो, त्यही अल्टो अब फिचर लोडेड भएर आउने भएको छ ।
मारुती सुजुकीले अगस्ट अन्तिमसम्ममा बजारमा ल्याउने अनुमान गरिएको नयाँ जेनेरेशन अल्टो अहिले भारतमा टिभी विज्ञापन सुटिङको क्रममा देखिएको छ । पहिलेको तुलनामा झट्ट हेर्दा नै ठूलो देखिने अल्टो नयाँ र आधुनिक फिचर सहित बजारमा आउने तयारी गर्दैछ ।
नेपालमा कुनै समय ट्याक्सीको रुपमा एकलौटी बजार कब्जा जमाएको नयाँ जेनेरेशन अल्टो अब ट्याक्सी नभई कारको रुपमा प्रयोग हुने अपेक्षा गर्न सकिन्छ । प्रदेश सरकारहरुले अनिर्वाय विद्युतीय ट्याक्सी चलाउने भन्दै नयाँ मापदण्ड पनि धमाधम बनाइरहेका छन् । त्यसैले पनि पेट्रोलबाट चल्ने अल्टो ट्याक्सीको सट्टा कारको रुपमा प्रयोग हुने अनुमान गर्न सकिन्छ । नयाँ जेनेरेशन अल्टोमा भेटिने मुख्य फिचर यसप्रकार रहेका छन् ।
१. इन्जिनः धेरै माइलेज दिने कार उत्पादनमा अग्रणी कम्पनी मारुती सुजुकी साना इन्जिन भएका गाडी उत्पादनमा पनि अब्बल मानिन्छ । जापानमा साना कार उत्पादनमा महारथ हासिल गरेको सुजुकिले भारतमा पनि अल्टो, सेलेरियो, एसप्रेसो, वागेनआर, स्वीफ्ट, इग्नीस जस्ता मोडलमा १.२ लिटरभन्दा सानो क्षमताको इन्जिन प्रयोग गर्दै आएको छ ।

सुजुकीले नयाँ जेनेरेशन अल्टोलाई दुई इन्जिन अप्सनमा ल्याउने अपेक्षा गरिएको छ । जसमा ७९६ सीसी र ९९९ सीसीका दुई इन्जिन रहने छन् । सानो इन्जिनले ४८ पीएस र ठूलो इन्जिनले ६७ पीएस पावर प्रदान गर्छ ।
२. इन्टेरियरः सार्वजनिक भएको तस्विरलाई आधार मान्ने हो भने नयाँ अल्टोको मुख्य परिमार्जन नै क्यावीनमा देखिन्छ । यसको क्याविन पहिलेभन्दा फराकिलो छ । साथै ड्यासबोर्ड निकै फरक डिजाइनमा सजिएको छ ।
नयाँ इन्ट्रुमेन्ट क्लष्टर, नयाँ स्टेरिङ ह्वील, नयाँ सिट, स्टाइलिस एसीभेन्ट, पछाडिको यात्रुको लागि पनि निकै सहज बनाइएको सिटको कारण पहिलेको तुलनामा निकै उत्कृष्ट क्याविन यसमा पाउन सकिन्छ ।
३. एक्सटेरियरः यसको बाहिरी बनोटमा पनि ब्यापक परिमार्जन देख्न सकिन्छ । धेरैहदसम्म नयाँ सेलेरियोबाट प्रभावित रहेको अल्टो हार्टटेक प्लेटफर्ममा तयार भएको हो ।
नयाँ अल्टोको अगाडिको भागमा पनि व्यापक परिवर्तन पाउन सकिन्छ । नयाँ हेडल्याम्प, ठूलो फ्रन्ट ग्रिल, अगाडि र पछाडिको रिभाईज बम्पर, नयाँ टेललाइट, नयाँ बडी डिजाइन यसको मुख्य विशेषता हुन् ।
४. सुरक्षा र नयाँ फिचरः मारुती सुजुकीले बजेट कार खोज्नेको आवश्यकता पुरा गर्न यसमा कुनै कसर बाँकी नराखेको अनुमान गरिएको छ । ठूलो स्मार्ट प्ले स्टुडियो यसमा दिएको छ । यो टचस्कृनमा एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्ट हुनेछ ।
यसका अलावा अगाडि दुई एयरव्याग, इबीडी सहितको एबीएस जस्ता फिचर रहने छन् । जसले पहिलेको तुलनामा अल्टोलाई थप सुरक्षित बनाउने छ ।
५. मूल्यः यसअघि नेपालमा २० देखि २२ लाख रुपैयाँसम्म मूल्य तोकेर विक्री हुँदै आएको अल्टोको नयाँ जेनेरेशन मोडलको मूल्य पनि त्यो भन्दा केही मात्रै बढी हुने अपेक्षा गरिएको छ ।

