किया सिरोसको मूल्य सार्वजनिक, सोनेटभन्दा महंगो

काठमाडौं । कियाले भारतमा उत्पादन गरेको नयाँ एसयूभी सिरोसको मूल्य बाहिर आएको छ । किया इन्डियाले विभिन्न ६ भेरियन्टमा ल्याएको सिरोसको सुरुवाती भेरियन्ट एचटीकेको मूल्य नै ९ लाख भारतीय रुपैयाँ तोकिएको छ ।

सिरोसको टप भेरियन्ट एचटीएक्स प्लस (एडास) डिजेलको मूल्य १७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । सिरोसको सबैभन्दा महंगो भेरियन्ट यही हो । यसको पेट्रोल भेरियन्ट भने १६ लाख ८० हजारमा किन्न सकिन्छ । कियाले दुई भेरियन्ट एचटीएक्स प्लस र एचटीएक्स प्लस एडास मात्रै डिजेल इन्जिनमा ल्याएको हो ।

कियाले बिक्री गर्दै आएको सोनेट एसयूभीको मूल्य ८ लाखदेखि १५ लाख ७० हजार भारतीय रुपैयाँसम्म थियो । तर, समान प्लेटफर्ममा बनेको सिरोस महंगो मूल्य राखेको हो । फिचर र डिजाइन अनुसार पनि सिरोस बलियो मोडल छ ।

अहिले भारतमा सर्वाधिक बिक्री हुने टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा थ्रीएक्सओ, निसान म्याग्नाइट, किया कै सोनेट, रेनो काइगर, स्कोडा काइल्याक जस्ता मोडलको तुलनामा अधिक फिचरसहित सिरोस बजारमा आएको हो ।

किया सिरोसमा १७ इन्चको अलोय ह्वील, कियाको लोगो प्रोजेक्सन सहितको पडल ल्याम्प, दुई कलरमा सजिएको इन्टेरियर, ६४ कलरमा छान्न मिल्ने एम्बियन्ट लाइट दिइएको छ ।

अटोमोटिक क्लाइमेट कन्ट्रोल, क्लाइमेट कन्ट्रोल एड्जस्ट गर्न ५ इन्चको टच स्क्रीन, १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८ स्पीकर, कियाको २.० कार कनेक्टिभिटी र एयर प्यूरिफायर जस्ता फिचर पाउन सकिन्छ । जुन अधिकांश फिचर यो सेग्मेन्टमा उपलब्ध कारमा भन्दा राम्रा छन् ।

स्मार्ट ड्यासक्याम्प, सबै भ्यान्टिलेटेड सिट, अटोमेटिक आइआरभीम, स्मार्ट फोन वायरलेस चार्जर, फोर–वे पावर्ड ड्राइभर सिट, अगाडि र पछाडि नै पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटर र लेभल टु एडास फिचर उपलब्ध छ ।

भारतीय बजारमा एउटै र उस्तै डिजाइनका सब फोर मिटर एसयूभी बीचमा प्रतिस्पर्धा भइरहेको समयमा कियाले बक्सी डिजाइनमा नयाँ एसयूभी ल्याएको हो । जुन भारतीय उपभोक्ताको लागि एउटा फिचर प्याक मोडल हुनेछ ।


Back_to_top