केटीएम ड्यूक-१२५ को भारतमा रेकर्ड बिक्री, यसकारण तत्काल नआउन सक्छ नेपाल

अस्ट्रियन मोटर कम्पनी केटीएमले भारतीय बजारमा केटीएम ड्यूक १२५ गत डिसेम्वर महिनामा २ हजार ४१४ यूनिट बेच्न सफल भएको छ ।  

सार्वजनिक भएको पहिलो महिनामा ४७५ यूनिटमात्र बिक्री भएको थियो । २६ नोभेम्वरमा सार्वजनिक भएको यो बाइकको बिक्री डिसेम्वर महिनामा ४०९ प्रतिशतले बृद्धि भएको हो । 

योसँगै ड्युक २०० को बिक्री ९२५ यूनिट, ड्युक २५० जम्मा १३५ यूनिट र ड्युक ३९० जम्मा १०६ युनिट बिक्री गर्न सफल भएको छ । 

कम्पनीको इन्ट्री लेवल सेग्मेन्टको डूक–१२५ को एक्स शोरुम मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ रहेको छ । १२५ सीसी सेग्मेन्टको सबै भन्दा महंगो यो बाइकले २०० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने छ । 

डूक–१२५ मा कम्पनीको अत्याधिक रुचाईएको मोडल डूक–३९० र डूक २०० मा प्रयोग भएका अधिकांश फिचरहरु उपलब्ध रहेको छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक–१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको हाइट ८१८ मिलिमिटर रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । 

कम्बी ब्रेकिङ्ग सिस्टममा आउने यस बाइकमा १२४.७ सीसी, सिङ्गल सिलिन्डर, फोर–भल्भ, लिक्विड कुल्ड, फ्यूल इन्जेक्टेड डीओएचसी इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले १५ बीएचपी पावर र १२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यसको फ्रन्टमा ४३ एमएमको फर्क लगाइएको छ भने रियरमा मोनोशक सेटअप लगाइएको छ ।

नेपाली बजारमा सुरुमा मार्चमा आउने भनिएपनि यो बाइक आउने वा नआउने भन्ने विषयमा अझै टुङ्गो लागेको छैन । 

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिक्री वितरण गर्दै आएको केटीएमको पछिल्लो उत्पादन ड्यूक १२५ नेपाल आउने वा नआउने भन्ने विषय अझै नटुङ्गिएको कम्पनी स्रोतले जानकारी दियो । 

महंगो मूल्य र कम सीसीका कारण सेग्मेन्टमै निकै महंगो बाइक बन्ने भएकाले यो बाइकलाई नेपाली बजारमा तत्काल ल्याउन निकै कठिन रहेको कम्पनी स्रोतले जनायो । 


Back_to_top